१६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरू



काठमाडौं,फागुन ३ । कोरोना महामारीका कारण ३ वर्षदेखि रोकिँदै आएको अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला काठमाडौंमा शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आउँदो शनिवारसम्म सञ्चालन हुने ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटन गरेका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले घरेलु उत्पादन प्रवर्द्धन तथा संरक्षण गर्ने ऐनको अभाव रहेको बताएका छन् ।

‘नेपालको आर्थिक स्थितिबारे व्यवसायीहरू जानकार हुनुहुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘वित्तीय संकटको स्थितिजस्तो देखिएको छ, बैंक ब्याजदरमा भएको वृद्धिले देखिएको समस्यालाई सम्बोधन गरिनेछ ।’ ब्याजवृद्धि र तरलता अभावले लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभाव सहज बनाउन सरकारले विशेष पहल गरेको उनले बताए ।

उद्योगी व्यवसायीले उपयोग गरेको कर्जा नवीकरण तथा पुनर्कर्जा प्रवाह गर्ने वातावरण बनाउन सरकार लागिपरेको उनको भनाइ थियो । निजीक्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई देश आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा जान नसक्ने उनले बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले ब्याजदर वृद्धि, कर्जा नवीकरण नहुनु र सहुलियतपूर्ण कर्जा उपलब्ध नहुँदा यो क्षेत्रमा थप लगानी गर्न समस्या भएको बताए । उद्योगीले ऋण तिर्न नसक्दा र ब्याजदर वृद्धि हुँदा मृत्यु तथा पलायनका घटना दोहोरिएको उनको भनाइ थियो । ‘आर्थिक व्यावसायिक गतिविधि सहज बनाउन निश्चित समयका लागि कर छूट र ब्याजदर पुनरवलोकन हुनुपर्छ,’ उनले भने । उद्योग ग्रामहरू छिट्टै सञ्चालनमा ल्याएर २०० व्यवसायीले एकै स्थानबाट व्यवसाय गर्न पाउने वातावरण बनाइदिन उनले सरकारसँग माग गरे । मेला उद्घाटन सत्रलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङलगायतले उद्योग व्यवसायको प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका थिए । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ मूल नाराका साथ मेला आयोजना गरिएको हो । मेलाको प्रायोजकमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत निकायहरू छन् ।

प्रतिक्रिया दिनुहोस्