महंगो बन्यो प्रेम दिवस, एउटै गुलाफको मूल्य ४ हजार !



काठमाण्डौं,फागुन १ । प्रेम दिवस सम्झिँदा जति रसिलो र मिठासपूर्ण छ, झन् उति महंगो बन्दै गइरहेको नमिठो तथ्य हामीमाझ छ । प्रणय दिवसको अवधिमा गतवर्ष करिब ४ करोड रुपैयाँको गुलाफको फूलको बिक्री भएको थियो । तर, यो वर्ष सरकारले विदेशबाट गुलाफमा रोक लगाएपछि माग अनुसारको गुलाफ अपुग हुने निश्चित छ भने मूल्य पनि अचाक्ली हुनसक्ने अवस्था छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनले गत वर्षको भ्यालेन्टाइन डेमा बजारमा माग वर्षेनी बढ्दो भएको र अत्याधिक व्यापार भएको जनाएको हो । अघिल्ला वर्षहरुमा कोभिडले केही प्रभावित भएपनि गएको वर्षदेखि भने सर्वसाधारणहरु पहिले झैं निर्धक्क भएर हिँडडुल र जमघट गर्न थालेकाले व्यवसायीहरुले सोचेभन्दा बढी फूलको कारोबार भएको एसोसिएसनका कुमार कसजु श्रेष्ठले बताए । उनले भने ‘विगतमा भ्यालेन्टाइनमा गुलाफको बिक्री हामीले अनुमान गरेभन्दा राम्रो भयो ।’

अनुमान भन्दा बढी खपत

एसोसिएसनका अनुसार यो वर्ष करिब दुई लाख ५० हजार वटा स्टिम गुलाफ खपत हुने अनुमान गरेको छ । गतवर्ष माग दुई लाख स्टिम फूलको आयात भएकोमा यसवर्ष त्यसबाट बढ्नसक्ने एसोसिएसनको भनाइ छ । यसमा दुई लाख वटाभन्दा बढी आयतित गुलाफ र ५० हजार स्वदेशमा उत्पादित गुलाफ खपत हुनसक्ने रहेको छ । तर, स्वदेशमा उत्पादित गुलाफले मात्रै यसपटकको भ्यालेन्टाइन डे मनाउनुपर्ने बाध्यता प्रेमील जोडीहरुलाई भइदिनेछ ।

वषेनी माग र आयात आयात निरन्तर बढ्दै आए पनि स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भ्यालेन्टाइन डे का लागि बजारको माग अनुसार गुलाफको आयातका लागि विदेशमा उत्पादित फुलमै भर पर्दै आउनुपरेको हो ।

सरकारले रोक नलगाउँदा भ्यालेन्टाइन डेका लागि भारतबाट यसवर्ष करिब तीन करोड रुपैयाँको फूलको आयात हुने अवस्था थियो । नेपालबाट यसरी करोडौं रुपमा बाहिरिनबाट जोगिएपनि प्रणय दिवसमा गुलाफको माग अत्याधिक हुनेहुँदा नेपालमा मात्रै उत्पादित गुलाफले भ्यालेन्टाइन डे मनाउनुपर्ने हुन्छ । जसका कारण फुलको मूल्य अत्याधिक बढ्न सक्ने देखिएको छ । एसोसिएसनका अनुसार बजारमा फूलको अभाव र मूल्य बढी हुँदा स्वदेशी गुलाफको बिक्री बढ्न गई आगामी वर्षहरुमा नेपालमै गुलाफ खेतीले उत्साहजनक वातावरण पाउनसक्ने सम्भावना बलियो देखिएको छ ।

अभाव हुँदा मूल्य बढ्ने

गुलाफको फूलको माग धेरै हुँदा बजारमा अभाव नै सिर्जना हुनेछ । यसकारण व्यवसायीहरुले फूलको मूल्य एसोसिएसनले तोकेको भन्दा तीनगुणा रुपैयाँसम्म बढी लिनसक्ने अनुमान छ । एसोसिएसनले फूलको माग घटेको भन्दै मूल्य प्रति गुलाफ एकसय ५० देखि दुई सय रुपैयाँसम्म पर्नसक्छ । यो मूल्य पहिलेभन्दा एकसय रुपैयाँ बढी हो । गत वर्ष प्रतिगुलाफ ९० देखि एकसय १० रुपैयाँमा बिक्री भएको थियो । बजारमा पर्याप्त मात्रामा फूल नहुँदा ग्राहकका लागि महंगो मूल्य तिर्नुपर्ने हुनसक्छ ।

एक बुकेटकै तीनदेखि चार हजारसम्म

फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलका अनुसार सजिएको एउटा गुलाफको बुकेटको मूल्य विगतमा २ हजार ५ सय रुपैयाँसम्म पर्नेमा अब सरकारको रोकपछि ३ देखि ४ हजारसम्म पर्नसक्ने अनुमान गरिएको छ । रोकको निर्णय नहुँदा पनि अन्य धेरै वस्तुहरुको मूल्य बढेको कारण यस वर्ष फूलको मूल्य पनि बढेको व्यवसायीहरु बताउँछन् । अझ रोकपछि झन् मूल्य स्वभाविक रुपमा बढ्ने व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस महिनामा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि ९.८२ प्रतिशत रहेको छ ।

‘स्टिम’ गुलाफको मूल्य गत वर्षको तुलनामा केही बढेको उनको भनाइ छ । फूलको गुणस्तर हेरेर मूल्य तय हुने उनले बताए । प्रयाप्त मात्रमा स्वदेशमा फूल उत्पादन नहुँदा विदेशबाट आयात गर्नु पर्ने बाध्यतामाथी झन् सरकारले रोक लगाएपछि फुलको संकटसँगै मूल्यपनि अधिक हुने स्थिति छ । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेमा मात्र व्यवसायिक रुपमा गुलाफ उत्पादन हुन्छ ।

उपत्यकामा ६० प्रतिशत गुलाफको माग

हरेक वर्ष गुलाफको माग भ्यालेन्टाइन डेको अवसरमा बढी हुन्छ । अन्य समयमा दैनिक ८ हजार गुलाफको माग हुनेमा भ्यालेन्टाइन डेको अवसरमा भने करिब २ लाख ५० हजारभन्दा बढी फूलको माग हुन्छ । गुलाफ तथा अन्य फूलको खपत ठूलो परिमाणमा उपत्यकामा हुने गरेको छ । ६० प्रतिशत फूलको व्यापार काठमाडौं उपत्यकामा हुन्छ भने ४० प्रतिशत उपत्यका बाहिरका पोखरा, बिराटनगर र बुटवल लगायतमा हुन्छ । जाडो समयमा राम्रोसँग फूलको उत्पादन नहुने भएकाले भ्यालेन्टाइन डेको समयमा मात्र भारतबाट गुलाफको फूल आयात अत्याधिक हुने गरेको थियो ।

व्यावसायिक खेतीतर्फ आकर्षण

बजारमा स्टिम फूलभन्दा कृत्रिम फूल सस्तो मूल्यमा पाइन्छ । सस्तो पाइने हुनाले उपभोक्ताले कृत्रिम फूल खरिद गर्दा स्टिम फूलको व्यापारलाई असर परेको छ । यस कारण एसोसिएसनले व्यवसायिक रुपमा फूलको खेती गर्ने जनाएको छ । उत्पादन बढी हुन सके स्टिम फूलको मूल्य कृत्रिम जत्तिकै सस्तोमा पाइने छ । हाल बजारमा कृत्रिम फूल प्रति पिस ३० देखि ४० रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्