विश्वका दोस्रो धनि भइसकेका भारतीय व्यवसायी अडानी कसरी पुगे २२ औं स्तरसम्म ? यस्तो छ कहानी



काठमाडौं,माघ २७ । भारतीय अर्बपति गौतम अडानी अहिले विश्वभरका आर्थिक समाचारहरुको मुख्य ‘हेडलाइन’ मै छन् ।

दुई सातादेखि उनको चर्चा चुलिएको छ । भारतको संसदमा पनि अडानी ठूलो बहसको विषय बनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी कांग्रेसका अध्यक्ष राहुल गान्धीबीच संसदमा चर्को सवाल जवाफ भएको छ ।

ठूलो हँगामाका बाबजुत उनको सम्पत्ती आधाभन्दा धेरै घटिसकेको छ । तै पनि उनी अहिले विश्वका ठूला २० धनिहरुको सूचीमा फेरी प्रवेश गरेका छन् । केही महिनाअघि संसारको दोस्रो धनि बनेका यी भारतीयको कहानी के हो त ? यस सामग्रीमा हामीले अडानीको व्यावसायिक जीवनको उतारचढाव र उनलाई असाधारण धक्का दिने अमेरिकी कम्पनीको चर्चा गरेका छौं ।

गौतम अडानी विश्वका अर्बपतिहरुको सूचीमा २२ औं नम्बरसम्म झरेर पुनः १७ औं नम्बरमा फर्किएका छन् । उनी टप २० भित्र छिर्दा बुधबार एकै दिन ४ अर्ब ३० करोड डलर सम्पत्ती बढेर ६४.९ अर्ब डलर पुगेको थियो । तर विहीबार फेरी ४ अर्ब ७० करोड सम्पत्ती घटेर ६० अर्ब ४० करोड अमेरिकी डलरमा झरेको छ ।

उनको व्यावसायिक इतिहास ज्यादा लामो छैन । उनी आजभन्दा ४५ वर्षअघि गुजरातको सानो सहर अहमदाबादमा साइकलमा साडी, कुर्ताका कपडा बेच्थे । उनको बुबाको ‘अदानी टेक्सटाइल्स’को बोर्ड पुरानै भए पनि अझै त्यहीँ छ । कलेज जीवनको एक वर्ष (११ कक्षा) पढेपछि क्याम्पस जान छाडेर ब्यापारमा रमाएका उनी सानै उमेरमा मुम्बई पुगेर हिराको ब्यापार गर्ने पसलमा काम गर्न थाले ।

तिनै अदानी गत भदौ अन्तिममा संसारकै दोस्रो धनि घोषित भए । एलन मस्कपछि पृथ्वीकै सर्वाधिक धनवान् हुनु अघिसम्म उनलाई बाँकी विश्वले खासै चिनेको थिएन । संसारभर ७५ देशका १०० भन्दा धेरै स्थानमा ठूला पूर्वाधार र व्यवसायको साम्राज्य फैलाउञ्जेल पनि सार्वजनिक रुपमा उनको खासै चर्चा भएको थिएन । गुजरातका अडानी व्यवसायमा लागेका थिए ।

सन् २०१४ मा भारतको लोकसभा निर्वाचन हुनुअघि अदानीसँग २ अर्ब ८० करोड अमेरिकी डलरको सम्पत्ती थियो । तर उक्त चुनावलगत्तै भारतमा गुजरातका पूर्वमुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बने । त्यसपछि उनको सम्पत्ती लगातार बढेर करीब डेढ खर्ब डलरसम्म पुग्यो ।

तिनै अदानी गत भदौ अन्तिममा संसारकै दोस्रो धनि घोषित भए । एलन मस्कपछि पृथ्वीकै सर्वाधिक धनवान् हुनु अघिसम्म उनलाई बाँकी विश्वले खासै चिनेको थिएन । संसारभर ७५ देशका १०० भन्दा धेरै स्थानमा ठूला पूर्वाधार र व्यवसायको साम्राज्य फैलाउञ्जेल पनि सार्वजनिक रुपमा उनको खासै चर्चा थिएन ।

तर गत साताको बुधबार एउटा अमेरिकी कम्पनी ‘हिंडनबर्ग रिसर्च’ले ‘संसारकै तेस्रो धनि व्यक्ति कसरी कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो घोटला गरिरहेको छ’ भनेर ३२ हजार शब्दको विस्तारित प्रतिवेदन सार्वजनिक गरिदियो । २ वर्ष लगाएर अनुसन्धान गरेको भनिएको उक्त प्रतिवेदनमा अदानी समूहले ज्यादै ठूलो ऋणको भारी बोकिरहेको उल्लेख गर्यो ।

हिंडनबर्गले प्रतिवेदन सार्वजनिक गर्नुअघि अदानीसँग १ खर्ब २६ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ती रहेको फेब्र्सले उल्लेख गरेको छ । दुई हप्ताभन्दा कम समयमा अडानीको सम्पत्ती घटेर ६० अर्ब ८० करोड डलरमा झरेको थियो । अदानी समूहले अहिले पनि भारतमा २३ हजारभन्दा धेरैलाई रोजगारी दिएको छ ।

अदानी समूहले अर्को वर्ष तिर्नुपर्ने १ अर्ब ११ करोड डलर बराबरको ऋण पछिल्ला दुई दिनमै अग्रीम भुक्तानी गरिसकेको छ । अडानी ग्रुपका सबै कम्पनीहरुको बजार पूँजीकरण १३ दिनमा १ खर्ब १७ अर्ब डलर घटेको थियो । १३ मध्ये ९ दिनमात्रै कारोबार हुँदा अडानी समूहका सेयरको बजार पूँजीकरण ४९ प्रतिशतसम्म घटेको थियो । पछिल्लो त्रैमासमा अडानीका सबैजसो कम्पनीको मुनाफा उल्लेख्य बढेको तथ्यांक सार्वजनिक भएका छन् ।

अदानी भारतको दोस्रो ठूलो सिमेण्ट उत्पादक हो । सबैभन्दा ठूलो बन्दरगाह मुद्रा उसैले सञ्चालन गरिरहेको छ । इजरायलमा बन्दरगाह र अस्ट्रेलियामा कोइला खानी सञ्चालन गर्छ । भारतका ठूला पुर्वाधारहरुमा उसको ब्यापक लगानी छ ।

एउटा फ्रान्सेली कम्पनीसँग मिलेर भारतमा हरित हाइड्रोजन उद्योगमा ५ अर्ब अमेरिकी डलर लगानी गर्ने सम्झौता गत सालको जुन महिनामा गरेको थियो । ऊ भारतको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक पनि हो । ग्यास उद्योग, विद्युत् तथा हरित ऊर्जा, खाने तेल, कृषि सामग्रीदेखि डेटा सेण्टरसम्म उसको लगानी छ ।

अदानी समूहले आफ्नो कम्पनी अडानी इण्टरप्राइजेजको भारु. २ खर्बको एफपीओ अर्थात् थप सेयर निष्काशन रद्ध गरिदिएको छ । कम्पनीको सबै सेयर विकिसकेपछि उसले सेयरको दोस्रो बजारमा आफ्नो विस्वास पुनःप्राप्त गर्न यति ठूलो पैसा फिर्ता गरेको हो । अडानी समूहसँग अहिले भारु. २० खर्ब हाराहारी ऋण छ । पछिल्ला ३ वर्षमै उसको ऋण दोब्बर भएको छ । तर कुल ऋणमा भारतीय बैंकहरुको हिस्सा ४० प्रतिशतभन्दा कम अर्थात् भारु. ८ खर्ब हाराहारीमात्रै रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘निकटवर्ति’ भनेर चिनिने अर्बपति गौतम अदानी अहिले कर्पोरेट विश्वमा सबैभन्दा चर्चाको पात्र बनेका छन् । लामो समयपछि उनी एसियाको धनिमात्रै होइन, संसारका १० महा–धनिहरुको सूचिबाट बाहिरिए । उनले नेपालमा ५७ वर्षदेखि अध्ययनमात्र भइरहेको, तर काम अघि नबढेको कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना निर्माणमा हात हाल्ने कोसिस गरिरहेका थिए । अडानीको समूहका कम्पनीहरुको सेयर मूल्य पछिल्लो एक सातामै ८४ अर्ब डलर घटिसकेको छ ।

उसका कतिपय उच्च अधिकारीहरु आपराधिक गतिविधीमा सामेल भएको, अदानी समूहका कम्पनीहरुमा शंकास्पद लगानी भित्रिरहेको र उक्त समूहका कम्पनीको सेयर मूल्य ० प्रतिशतसम्म अधिमूल्यन् भइरहेको भनेर ८ वटा प्रश्नहरु तेस्र्याएको छ । अदानी समूहले पनि उक्त प्रतिवेदन ‘भारतमाथिको आक्रमण’ भन्दै ४१३ पेजको प्रतिबाद गरेर न्यायिक निरुपणमा जाने भनेको छ । तर यसको असर सेयर बजारमा भने आश्चर्यजनक ढंगले देखिएको छ ।

प्रतिवेदन सार्वजनिक भएको एक सातामा अदानी समूहका कम्पनीहरुले सेयर बजारमा ८४ अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ती गुमाइसकेका छन् । अडानी समूहमा लगानी गर्ने बैंकहरु र एलआईसीजस्ता बीमा कम्पनीको सेयर मूल्यमा पनि ब्यापक गिरावट आएको छ ।

स्वयम् गौतम अदानीकै सम्पत्ती पनि करीब आधा खर्ब डलर घटिसकेको छ । उक्त प्रतिवेदन सार्वजनिक हुनुअघि १ खर्ब २१ अर्ब अमेरिकी डलर सम्पत्तीका मालिक रहेका अदानीसँग अब ७५ अर्ब डलरमात्रै बाँकी रहेको फोब्र्सले उल्लेख गरेको छ । यससँगै लामो समयदेखि विश्वको तेस्रो धनि रहँदै आएका उनी अहिले फाब्र्सको ‘रियल टाइम बिलियनर्स’ सूचीमा १५ औं स्थानमा झरेका छन् ।

यो प्रतिवेदन त्यस्तो बेला सार्वजनिक भयो, जब अदानी इण्टरप्राइजेजले भारतमा अहिलेसम्मकै ठूलो अर्थात् २ खर्ब भारुको एफपीओ जारी गर्दै थियो । सोमबारसम्म जम्मा ३ प्रतिशतमात्रै आवेदन परे पनि मंगलबार ठूला कर्पोरेटहरुले सहयोग गरेपछि अदानी इन्टरप्राइजेजको यो एफपीओ पूर्णतः विक्री भएको छ । यसलाई भारतीय कर्पोरेट क्षेत्रमा ‘अदानीले युद्ध जितेको’ भनेर चर्चा भएको छ । यसले अदानीलाई भारतीय सेयर बजारमा आफ्नो गुमेको शाख फर्काउन नयाँ मौका दिने अनुमान गरिएको छ ।

अदानी समूहले नेपालमा पनि १० हजार ८ सय मेगावाट क्षेमताको जलविद्युत् सहित कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनाको निर्माणका लागि चासो देखाउँदै आएको छ । नविकरणीय ऊर्जामा ब्यापक लगानी विस्तार गर्ने योजना बनाएको उक्त समूहले लगानी बोर्ड र प्रधानमन्त्री कार्यालयसँग विभिन्न चरणमा छलफल गरे पनि यसमा अझसम्म ठोस प्रगति हुन सकेको छैन ।

भारतको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक, भारतकै ठूलो बन्दरगाह व्यवस्थापक, ठूलो सिमेण्ट उत्पादक र पेट्रोलियम रिफाइनरीदेखि अनेक क्षेत्रमा लगानी गरिरहेको अदानी समूहमाथि ठगीको आरोप लगाउने अमेरिकी कम्पनी हिडनबर्गको स्वार्थलाई लिएर पनि कतिपयले शंका गरिरहेका छन् ।

सट्टेबाजी र सेयर बजारमा लगानी गर्ने यो कम्पनीले ठूला कर्पोरेट कम्पनीहरुको सेयरमा लगानी गर्छ । लगानी रणनीतिका निम्ति त्यस्ता कम्पनीहरुको बारेमा गहिरो अनुसन्धान गर्छ र सेयर मूल्य उचाइमा पुगेको बेला आफूले किनेको सेयर बेचेर कम्पनीको बदनाम गर्ने गरी प्रतिवेदनहरु सार्वजनिक गर्छ । त्यसपछि सेयर सस्तिँदै जान्छ र पहिले बेचेकै सेयर त्योभन्दा ज्यादै सस्तो भाउमा किन्छ ।

यसरी गरिने सट्टेबाजीलाई ‘शर्ट सेल’ भनिन्छ । हिडनबर्ग त्यही शर्ट सेलर कम्पनी हो, जसले उसको निहित स्वार्थका निम्ति यो प्रतिवेदन प्रकाशित गरेको भन्दै भारतमा यसको विरोध पनि भएको छ । तथापि, अमेरिकामा हिडनबर्गलाई गम्भिरताका साथ नै लिइन्छ । जे होस्, दुई दिनअघिसम्म एसियाकै धनि रहेका अदानीलाई यो धक्काबाट पुरानै अवस्थामा फर्किन लामै प्रतिक्षा गर्नुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्