बाइक र स्कुटरको कर बुझाउनु भएको छैन? फागुन मसान्तसम्म तिर्नुहोस्, ५ वर्षको जरिवाना छुट पाउनुहोस
काठमाडौं,माघ २६ । आगामी फागुन मसान्तसम्म मोटरसाइकलको कर बुझाउँदा छुट पाइने भएको छ । यातायात व्यवस्था कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७०/७१ देखि कर बुझाउन बाँकी रहेकाहरूलाई अहिले कर बुझाएमा छुट दिइने भएको हो ।
विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म कर तथा नवीकरण शुल्क नबुझाएका मोटरसाइकल तथा स्कुटरधनीले यही फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको हो ।
विभागले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका मोटरसाइकल धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ ।
प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लागतकट्टा गर्न विभागले जनाएको छ ।
सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने यसका साथै कुनैपनि बहानामा नविकरण शूल्क तथा जरिवानाबाट उन्मुक्ति नदिने बताइएको छ।