बिपिडब्लु लघुवितले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्दै



काठमाडौं,माघ २२ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

पछिल्लो समय सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गरेपछि मात्र सर्वसाधारणमा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ विक्री शुरु गरेको हो । 

कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका  रू. ९७ लाख  बराबरको ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरिनेछ । १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  

त्यस्तै सर्वसाधारणमा भने फागुन १८ गतेदेखि आईपीओ विक्री खुला हुनेछ ।  सर्वसाधारणमा जारी हुने शेयर छिटो अवधि फागुन २३ गतेसम्म रहेको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि  चैत २ गतेसम्म विक्री लम्बिने कम्पनीको भनाइ छ । तर, सर्वसाधारणमा आईपीओ विक्री खुला हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा कम्पनीको आईपीओ पनि छिटो अवधि फागुन २३ गतेसम्म मात्र विक्रीमा रहने सम्भावना देखिन्छ । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्