तरकारी फ्याँक्ने किसानलाई रविको सन्देश– दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्छौं
काठमाडौं,माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानको उत्पादन मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने बताएका छन् । चितवनका किसानले तरकारी सडकमा फ्याँकेको समाचार र तस्बिर सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा यस्तो भनेका हुन् ।
फेसबुकमा किसान आन्दोलनको तस्बिरसहित स्टाटस लेख्दै उनले आफूहरुलाई समस्या थाहा भएको र समाधान खोज्ने बताएका छन् । उनले चितवनबासीलाई केही दिनमा भेट्न आउने पनि उल्लेख गरेका छन् ।
‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नुपर्ने बाध्यतामा छन् देशका किसान। देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन । किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागिपर्ने छौं,’ लामिछानेले लेखेका छन् ।
उनले चितवनबासीसँग पुनः भेट हुने उल्लेख गरेका छन् । चितवन-२ बाट प्रतिनिधिसभाका सांसद बनेर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बनेका रवि नागरिकता मुद्दामा दोषी ठहर भएपछि आम नागरिक भएका छन् । फेरि नागरिकता लिएर अहिले उनी पुनः गृहमन्त्री बन्न प्रयासरत छन् ।