माथिल्लो तामाकोशीले रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्ने



काठमाडौं,माघ २० । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।   आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ ।

कुल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । यसको डिजाइन बहाव १३ दशमलब ४ घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाको कुल हेड २०७ मिटर रहेको छ । आयोजनाबाट वार्षिक सरदर १०५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । यस्तै, डाईभर्सन स्किमबाट वार्षिक २१६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ । रोल्वालिङ खोलामा बाँधबाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ । आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ ।

विद्युत् गृहमा दुई ओटा टवाईन रहनेछ । ती टबाईनबाट १० दशमलब ४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई ७४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशयमा पानी खसालिनेछ ।   विद्युत् गृहबाट उतपादित बिजुली ८ दशमलव ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रस्तावित ३३/ २२० केभी सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ ।

सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमासमेत गुणात्मक वृद्धि हुनेछ । अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादनका लागिसमेत रोल्वालिङ खोला जलविद्युत् आयोजना सहयोगी हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्