‘व्यवसायीको मनोबल बढाउने वातावरण आवश्यक’



काठमाडौं,माघ १६ । पछिल्ला दिनमा उद्यमी तथा व्यवसायीले आत्मदाह/आत्महत्या गर्दा समग्र व्यवसायीको मनोबल खस्किएको नेपाल उद्योग परिसंघले बताएको छ । सरकार र निजीक्षेत्रको प्रयासले अर्थतन्त्र र व्यावसायिक वातावरणमा सुधार आउने क्रममा यस्ता घटना भएको भन्दै परिसंघले व्यवसायीको मनोबल उच्च राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।

पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीमा चिन्ता तथा निराशा बढेको परिसंघले उल्लेख गरेको छ । आइतवार प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले बीच पछिल्ला घटनाले अर्थतन्त्रको विकास र व्यावसायिक वातावरण सुधारमा सरोकार राख्ने सबैलाई झकझक्याएको बताएको छ । सरकार र निजीक्षेत्रबाट सकारात्मक भइरहेकाले छिट्टै कठिनाइबाट बाहिर आउन सकिने अपेक्षा समेत परिसंघले गरेको छ ।

अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायी निराश हुँदा सरकारको राजस्वमा मात्र नभई देशको प्रगतिमै नकारात्मक असर पर्ने परिसंघले बताएको छ । ‘कठिन अवस्थाको संवेदनशीलताका विषयमा सरकार र नियामक निकायहरू जानकार रहेको हाम्रो बुझाइ छ,’ विज्ञप्तिमा भनिएको छ । अहिलेको असहज अवस्थाबाट पार पाउन सबैको प्रयासको खाँचो रहेको परिसंघले बताएको छ ।

नेपालको निजीक्षेत्र विगतमा पनि कठिन अवस्था चिर्दै अगाडि बढेको परिसंघको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड महामारी जस्ता कठिन अवस्थाबाट निजीक्षेत्र बाहिर निस्केको र अब पनि चाँडै बाहिर निस्कने परिसंघको विश्वास छ ।

उद्योगी व्यवसायीको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व भएको परिसंघको ठहर छ । आगामी दिनमा यस्ता घटना दोहोरिन प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारीसहित मुख्य सरोकारवाला निकायलाई परिसंघले आग्रह गरेको छ ।

नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा सरकारबाट चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको परिमार्जन, आयात प्रतिबन्ध फुकुवा, एलसीमा नगद मार्जिनको व्यवस्था हटाइनु र निक्षेपमा ब्याजदर घट्नुले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको परिसंघले बताएको छ । साथै, पर्यटक आगमन तथा रेमिट्यान्समा वृद्धि, शोधनान्तर स्थितिमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको बताइएको छ । सरकारले लिएका र लिने कदमले बैंकिङ प्रणालीमा तरलता र समग्र मागमा वृद्धि ल्याउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्