देशको आर्थिक सामथ्र्यलाई राम्रो बनाउनु छ : अर्थमन्त्री पौडेल
काठमाडौं,माघ ७ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा आर्थिक सामर्थ्य राम्रो बनाउन आवश्यक रहेको बताएका छन् । आज कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आर्थिक चुनौती खडा भएकाले आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सरकारलाई सबैको साथ चाहिएको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन, गत वर्षको भन्दापनि कम राजश्व संकलन भइरहेको जानकारी गराए ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले अर्थतन्त्र ठिक ठाउँमा ल्याउन मितव्ययता, खर्च र सुविधाको कटौतीका लागि सरकारले सिंगो देशलाई आह्वान गरिरहेको बताए । उनले अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती रहेको धारणा पनि राखे ।
सरकारले बाधा सिर्जना गर्ने नभई सहजीकरण गर्न लाग्ने पनि बताए । उनले व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध शत्रुतापूर्ण नभई मित्रवत् हुनुपर्ने बताए ।