भारतीय कम्पनीले लगानी बोर्डमा बुझायो प्रारम्भिक प्रतिवेदन



काठमाडौं,माघ ६ । भारतीय कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)ले पश्चिम सेती जलविद्युत् आयोजना सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन लगानी बोर्ड नेपालमा पेश गरेको छ । बिहीवार कम्पनीका उपमहाप्रबन्धक  अशोककुमार जोशीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन निर्धारित समयमै प्रतिवेदन प्राप्त भएको भट्टले बताएका छन् ।

कम्पनीले परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक, वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइन लगायतका विषयमा अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अबको २१ महीनाभित्र बुझाउनुपर्ने सम्झौता छ । आयोजनाको लक्ष्य, अनुमानित लागत, काम, अवधि, फाइदालगायत विषय प्रारम्भिक प्रतिवेदनमा समेटिएको बोर्डका अधिकारीहरूले बताएका छन् ।

७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना निर्माणका लागि सरकारले गत भदौमा एनएचपीसीसँग सम्झौता गरेको थियो ।

एनएचपीसीले उक्त आयोजनाहरू जलाशययुक्त वा अर्ध जलाशययुक्त रूपमा निर्माण गर्न सक्ने सम्झौतामा उल्लेख छ । लगानी बोर्डले यी दुई जलविद्युत् आयोजनाबाट कुल जडित क्षमताको २१ दशमलव ९ प्रतिशत विद्युत् नेपालले नि:शुल्क प्राप्त गर्नेगरी गत साउनमा उक्त कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । पश्चिम सेती निर्माणका लागि १ खर्ब ६८ करोड रुपैयाँ र सेती नदी–६ निर्माणका लागि १ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्