खर्च घटाउने अर्थमन्त्रीका जुक्ति : पत्रिका नकिन्ने, बोतलको पानी नखाने, गाडीमा मोबिल नफेर्ने !
काठमाडौं,माघ ५ । अर्थमन्त्री विष्णु पौडेलले चालू खर्च घटाउनेसम्बन्धी मापदण्ड-२०७९ जारी गरेका छन् । नव गठित सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाटै अनावश्यक शीर्षकमा हुने खर्च कटौती गर्ने निर्णय गरे अनुसार नै अर्थ मन्त्रालयले मापदण्ड बनाएर लागू गर्न लागेको हो ।
मापदण्डमा मन्त्रालयले पत्रपत्रिका खरिदका लागि सदस्यता नलिने तथा नवीकरणका लागि रेस्नल संख्यामा नवीकरण गर्ने, पानीका बोतल प्रयोग नगर्ने, गाडी सर्भिसिङ गर्दा मोबिल नफेर्ने लगायतका कुरा समावेश छन् ।
‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले मापदण्डानुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गर्ने, दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्ने, अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमितरूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राख्ने उल्लेख छ ।
यस्तै, खर्च घटाउनका लागि अति आवश्यक बाहेकका सेमिनार, तालिम गोष्ठी नगर्ने, गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरू प्रयोग गर्ने, स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने, बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइँदै आएको सुविधा नदिने, यदि दिनै पर्ने भए ५० प्रतिशत मात्र दिने व्यवस्था गरिएको छ ।
अति आवश्यक विना एसी, हिटर र पङ्खाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालादारीमा कामकाज नलगाउने र बैठकहरू कार्यालय समयभित्र मिलाउने व्यवस्था मापदण्डमा गरिएको छ ।
सरकारलाई खर्च घटाउन सार्वजनिक खर्च पुनरावलोकन आयोग, संसदीय समितिहरुले पटकपटक भन्दै आएका थिए । सरकारले प्रत्येक बर्षको बजेट पछि यस्ता मापदण्ड बनाउँदै आएपनि त्यसको लागू भने प्रभावकारी रुपमा हुन सकेका थिएनन । जसकारण अहिले बनाएको मापदण्डको प्रभावकारी कार्यान्वयन हुनेमा अश्वस्त हुन सक्ने अवस्था नरहेको विज्ञहरुको बुझाइ छ ।