मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू



काठमाडौं,माघ ५ । सरकारले उखुको मूल्य तोक्नेदेखि सरकारले प्रदान गर्ने विभूषणको मापदण्डका लागि समिति बनाउनेसम्मको निर्णय गरेको छ । बुधवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले यी निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताए । 

यस्तै, बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने र प्रतिक्विन्टल उखुको मूल्य ५४० रुपैयाँ तोक्ने निर्णय गरेको छ । यसमा सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताए । 

‘क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रिपरिषद बैठकमा छलफल भएको छ । र, थप अध्ययन गरिकन हामी उपयुक्त निर्णयमा छिट्टै पुग्नेछौं,’ उनले भने । 

बैठकले कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक कार्ययोजना निर्माण गर्न ७ दिनको समय प्रदान गर्ने निर्णय गरेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । 

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्