सस्तियो अमेरिकी डलर



काठमाडौं,माघ ५ । नेपाली बजारमा बिहीवार अमेरिकी डलर केही कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकेकोमा बिहीवारका लागि १३० रुपैयाँ २९ पैसा तोकेको छ । यसैगरी बुधवार प्रतिअमेरिकी डलर १३० रुपैयाँ ५२ पैसा खरीददर कायम भएकोमा बिहीवारका लागि १२९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यसअघि गत शनिवारदेखि सोमवारसम्म अमेरिकी डलरको विक्रीदर १३० रुपैयाँ ४३ पैसा कायम भएको थियो । मंगलवार र बुधवार बलियो भएको डलर बिहीवार फेरि कमजोर बनेको हो ।

नेपाली मुद्रासँग स्थिर विनिमय दर रहेको भारतीय रुपया केही बलियो भएपछि नेपाली रुपैयाँ पनि बलियो भएको हो । बुधवार अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा ४४ पैसाले बलियो भई डलरसँगको विनिमय दर ८१ रुपया २५ पैसे कायम भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत कात्तिकमा नेपाली बजारमा डलरको मूल्यले कीर्तिमान कायम गरेको थियो । त्यस दिन एक डलरको विक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको थियो । डलर मूल्यमा हुने उतारचढावबाट अर्थतन्त्रमा सकारात्मक नकारात्मक दुवै असर पर्छ । निर्यातमुखी तथा पर्यटन र रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई डलरको मूल्यवृद्धि हुँदा फाइदा हुन्छ । डलर कमजोर हुँदा फाइदा घट्छ । आयातमुखी र विदेशी ऋणमा आधारित अर्थतन्त्रलाई डलर कमजोर हुँदा फाइदा हुन्छ । डलर बलियो हुँदा मुद्रास्फीति र वित्तीय दायित्वमा दबाब पर्छ ।

नेपालको हकमा डलर कमजोर हुँदा बजार मूल्य घट्छ । नेपालले स्वदेशमै उत्पादन हुने कृषिवस्तुदेखि ठूलाठूला मेशिन औजारसमेत विदेशबाट आयात गर्छ । डलर सस्तो हुँदा आयात गरी आपूर्ति गरिएका वस्तुको मूल्य कम पर्न जान्छ । त्यसैगरी विदेशी ऋणको साँवाब्याज भुक्तानी पनि डलरमै गर्नुपर्ने हुँदा डलरको मूल्य घट्दा सरकारको वित्तीय दायित्व कम हुन्छ । ठूलाठूला विकास निर्माण आयोजनाको लागत घट्छ । डलर कमजोर हुँदा निर्यात र पर्यटन उद्योगको नाफा भने घट्छ । उनीहरूले विदेशीलाई विक्री गरेको वस्तु वा सेवाको भुक्तानी डलरमा लिन्छन् । त्यसैगरी रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई पनि डलर कमजोर हुँदा घाटा हुन्छ । विदेशमा रहेका नेपालीले कमाएर पठाएको रकम स्वदेशी मुद्रामा प्राप्त हुने हुँदा उनीहरूको परिवारले पाउने रकम घट्छ ।

प्रतिक्रिया दिनुहोस्