सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं,माघ ४ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आज (माघ ४ गते) देखि निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ ।प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा विक्री गरीनेछ ।
स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं। १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं। १ तथा भिक्वाखोला गाउँपालिका वडा नं। १ र २, मेरिङदेन गाउँपालिका वडा नं। २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं। ५ तथा मैवाखोला गाउँपालिका वडा नं। १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो ।
उक्त आइपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।
विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।