विश्व अर्थतन्त्र मन्दीमा जाने भय रहँदा भारतको व्यवसायिक मनोबल भने बढ्यो, सूचकांक २ वर्षकै उचाइमा
काठमाडौं,माघ ४ । गएको त्रैमासमा भारतमा व्यावसायिक मनोबल बढेको छ । भारतीय उद्योग परिसंघ (सीआईआई)ले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । विश्व अर्थतन्त्र मन्दीमा जाने भय कायमै रहेको समयमा व्यावसायिक मनोबलमा आएको सुधारले भने भारत सो दुर्गतिबाट बच्ने आशा बढाएको छ ।
डिसेम्बर त्रैमासमा सीआईआई मनोबल सूचक (बीसीआई) ६७ दशमलव ८ अंक छ । यो सूचक दुई वर्षयताकै त्रैमासको उच्च हो । अघिल्लो त्रैमासमा यो सूचक ६२ दशमलव २ अंक थियो ।
अधिकांश विश्व मन्दीमा फस्ने जोखिमबीच भारतको अवस्था भने राम्रो रहेको यसले देखाएको छ । विश्वभर महँगी नियन्त्रण गर्न ब्याजदर कसिलो बनाउने क्रम जारी रहेको अनि भूराजनीतिक तनावबीच यो वर्ष विश्वको आर्थिक वृद्धिदर सुस्ताउँदैछ ।
विश्वव्यापी आर्थिक सुस्तीले भारतको अर्थतन्त्रमा थोरै प्रभाव पार्ने सर्वेक्षणमा सहभागी भएका ७३ प्रतिशतले बताएका छन् । आगामी आर्थिक वर्षमा भारतीय अर्थतन्त्र साढे ६ प्रतिशतदेखि साढे ७ प्रतिशतसम्म बढ्ने ७० प्रतिशत सहभागीहरूले बताएका छन् । विश्वव्यापी चुनौतीका कारण आव २०२४ मा वृद्धिदर सुस्ताउने अनुमान गरिएको छ ।
भारतमा पनि महँगी नियन्त्रण गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गएको वर्ष मेयता आरबीआईले धमाधम ब्याजदर बढाइरहेको छ । ब्याजदर वृद्धिको आर्थिक गतिविधिमा प्रभाव यसअघि नै महसुस भइसकेको करीब आधा सहभागीहरूले बताएका छन् । उच्च ब्याजदरका कारण निजी लगानी पनि प्रभावित भएको छ ।
अहिले सरकारी क्षेत्रको लगानीले आर्थिक वृद्धिलाई टेवा दिइरहेको छ । उच्च कर्जा लागतबाहेक पनि विद्यमान अनिश्चयले पनि कम्पनीहरूलाई लगानी योजना अगाडि बढाउन रोकिरहेको छ ।