लयमा फर्किंदै अर्थतन्त्र



काठमाडौं,पुस ३० । उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको छ । राष्ट्र बैंक तथा सरकारले लिएका रक्षात्मक नीतिका कारण अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मङ्सिरमा पनि शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति (महँगी), रेमिट्यान्स (विप्रेषण) आप्रवाह जस्ता सूचकले सकारात्मक दिशातर्फ नै निरन्तरता पाएको देखाएको छ ।

महँगी वृद्धिदर घट्दो
विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै उच्च विन्दुमा पुगेको उपभोक्ता मूल्य वृद्धिदर (महँगी) लक्षित सीमातर्फ उन्मुख देखिएको छ । मङ्सिरमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ३८ प्रतिशतमा ओर्लेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) मा उपभोक्ता मूल्य वृद्धिदर ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य निर्धारण गरेको छ ।
गत भदौमा ८ दशमलव ६४ प्रतिशतसम्म पुगेको महँगी असोजमा ८ दशमलव २६ र कात्तिकमा ८ दशमलव शून्य ८ प्रतिशत थियो । कोभिड–१९ को महामारी र रूस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय स्तरमै महँगी उच्च हुँदा त्यसको बाछिटाबाट नेपाल प्रभावित भएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानको भाउ घटेको छ ।

८.७ महीनाको आयात धान्ने विदेशी मुद्रा
विदेशी मुद्रा सञ्चिति बढ्ने क्रमले मङ्सिरमा पनि निरन्तरता पाएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ६ दशमलव ३ प्रतिशतले बढेर मङ्सिरमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलर सञ्चिति पनि २०७९ असार मसान्तको ९ अर्ब ५४ करोड रुपैयाँबाट बढेर मङ्सिर मसान्तमा ९ अर्ब ८२ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मङ्सिर मसान्तको विदेशी मुद्रा सञ्चितिले आव २०७९/८० को ५ महीनाकै अनुपातमा आयात भइरहे १० महीनाको वस्तु आयात गर्न पुग्छ । वस्तु र सेवा दुवै आयातका लागि भने ८ दशमलव ७ महीनालाई पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । कात्तिकमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चितिको आकार १ महीनामा करीब ५० अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

शोधनान्तर बचत बढ्यो
मङ्सिरमा देशको शोधनान्तर स्थिति थप मबजुत बनेको छ । मङ्सिर मसान्तमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । कात्तिक मसान्तमा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रने र बाहिरिने रकमको हिसाब शोधनान्तर हो । पोहोर मङ्सिरमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा थियो ।

यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालू वर्षको मङ्सिर मसान्त हुँदा ३४ करोड ६८ लाखले बचतमा गएको छ । कोभिड–१९ महामारी र त्यसलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षहरूमा आयात घट्दा शोधानान्तर स्थिति बचतमा थियो । तर, गतवर्षको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढ्न थालेको हो । स्वदेशमा भित्रनेभन्दा बाहिरिने रकम बढी भएर विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि आयात निरुत्साहित गर्न राष्ट्र बैंकले विलासी वस्तुको आयात एलसीमा ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था तथा विलासी वस्तुको आयातमै रोक लगाउनुपरेको थियो । त्यही कदमको नतिजा शोधनान्तर स्थिति घाटाबाट बचतमा भएको हो । शोधनान्तर बचत बढ्नुका साथै विदेशी मुद्रा सञ्चिति पनि बढेपछि सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाइसकेको छ । विलासी वर्गका वस्तु आयातका लागि एलसी खोल्दा राख्नुपर्ने ५० र शतप्रतिशत नगद मार्जिनको प्रावधान हटाउन राष्ट्र बैंकलाई दबाब छ ।

१ खर्बभन्दा बढी विप्रेषण
चालू आवको शुरूदेखि नै बढ्न थालेको विप्रेषण आप्रवाहमा मङ्सिरमा पनि सुधार आएको छ । मङ्सिरसम्ममा विप्रेषण आप्रवाह पोहोरको तुलनामा २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । यस्तै मङ्सिरमा अमेरिकी डलरमा विप्रेषण १३ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

मङ्सिरमा मात्र १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । कात्तिकमा ९६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि र डलरको भाउ उच्च हुँदा विप्रेषण आम्दानीमा सकारात्मक प्रभाव देखिएको हो । यसैगरी सरकार र राष्ट्र बैंकले औपचारिक प्रणालीबाट विप्रेषण ल्याउन प्रोत्साहन पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्