अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो
काठमाडौं,पुस २९ । अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो ।
अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धपछि विश्वभर मूल्यवृद्धि उच्च भएको थियो । तर, पछिल्ला दिनमा पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको मूल्य घटेसँगै महँगीको दर पनि घटेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
विदेशमा मूल्यवृद्धि उच्च हुँदा त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्दै आएको छ । नेपाल आयातमा आधारित अर्थतन्त्र रहेकाले महँगी पनि आयात हुँदै आएको नेपाल राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । भारतीय र अमेरिकाको मूल्य वृद्धिदरमा आएको कमीको सकारात्मक प्रभाव आगामी महीना नेपालमा देखिने अपेक्षा गरिएको छ ।
सरकार र राष्ट्र बैंकले चालू आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य तोकेका छन् । तर, हालसम्म उक्त लक्ष्यभित्र मूल्यवृद्धि कायम हुन सकेको छैन । गत कात्तिकमा नेपालको महँगी दर ८ दशमलव शून्य ८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । भदौमा त महँगी दर ८ दशमलव ६४ प्रतिशत पुगेको थियो ।
नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकाले अन्तरराष्ट्रिय बजारको मुद्रास्फीति र अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको मूल्यमा हुने उतारचढावबाट सीधै प्रभावित हुने अर्थशास्त्री बताउँछन् । नेपालको सबैभन्दा ठूलो आयात साझेदार भारत भएकाले त्यहाँ मुद्रास्फीति तलमाथि हुँदा नेपालमा आयात हुने महँगी पनि तलमाथि हुने गर्छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भारतले महँगी नियन्त्रण गर्दा त्यसको लाभ नेपाली अर्थतन्त्रलाई पनि भएको बताउँछन् । ‘नेपालको अधिकांश आयात भारतमै निर्भर रहेकाले त्यसको लाभ नेपाली अर्थतन्त्रलाई पनि हुन्छ,’ उनले भने, ‘भारतमा पनि मूल्यवृद्धि नियन्त्रणमा नभएको भए यतिबेला हाम्रो मूल्यवृद्धि दोहोरो अंकमा पुग्थ्यो ।’ भारतीय बजारमा सार्वजनिक वितरण प्रणाली चुस्त भएकाले पनि मूल्यवृद्धि नियन्त्रणमा रहेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको साउनमा नेपालमा मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत कायम हुँदा भारतमा ७ प्रतिशत थियो । भदौमा नेपालमा बढेर ८ दशमलव ६४ प्रतिशत पुग्दा भारतमा ७ दशमलव ४१ प्रतिशत मात्र पुग्यो । कात्तिकमा नेपालको मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशतमा झर्दा भारतको पनि ५ दशमलव ८८ प्रतिशतमा झरेको छ । भारतको मूल्य वृद्धिदरमा आएको कमीले आगामी दिनमा नेपालमा पनि महँगी दर कम हुने अनुमान गरिएको छ ।