विराटनगर महानगरको कर संकलन अभियान



वडाका सम्पर्क व्यक्तिलाई करसम्बन्धी अभिमुखीकरण तालीम

विराटनगर,पुस २८ । आन्तरिक आय बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरपालिकाले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालीम सञ्चालन गरेको छ । कर संकलन अभियान प्रभावकारी बनाउने उद्देश्यले हरेक वडाबाट एक–एकजना वडा सदस्यलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ । वडा कार्यसमितिको सिफारिशका आधारमा महानगरले वडा सदस्यहरूलाई सम्पर्क व्यक्ति तोकेको हो । उनीहरूले चार वर्षसम्म कर अभिवृद्धिका लागि वडामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । सम्पर्क व्यक्तिका रूपमा तोकिएका वडा सदस्यहरूलाई महानगरले पहिलो चरणको अभिमुखीकरण तालीम दिएको हो ।

‘व्यवसाय दर्ता, नवीकरण, बहाल, सम्पत्तिलगायतका कर संकलन गर्न उहाँहरूले समन्वय गरिदिनुहुनेछ,’ महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले भने, ‘सम्पर्क व्यक्तिको नेतृत्वमा कर्मचारीहरू कर संकलन अभियानमा लाग्नुहुनेछ ।’ वडामा करसँग सम्बन्धित कुनै समस्या आए सम्पर्क व्यक्तिले महानगरसित समन्वय गरेर समाधान गर्नेछन् । बढीभन्दा बढी कर संकलनका लागि सम्पर्क व्यक्तिहरूले समन्वय र सहजीकरण गर्नेछन् । अभिमुखीकरण कार्यक्रममा मेयर नागेश कोइरालाले आन्तरिक आय बलियो नबनाएसम्म विराटनगरवासीको विकासको चाहना पूरा नहुने बताए । ‘जनतामा विकासको चाहना धेरै छ,’ उनले भने, ‘तर आम्दानी सीमित भएकाले हामीले जसरी पनि आम्दानी बढाउनुपर्छ ।’

महानगरले करको दरभन्दा दायरा फराकिलो बनाइरहेको मेयर कोइरालाले बताए । सरसफाइसँगै कर संकलनमा महानगर सक्रिय रूपमा लागिपरेको उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्य पूरा गर्न कर संकलन अभियानकै रूपमा सञ्चालन गरिएको उनले बताए ।

उपमेयर शिल्पा निराला कार्कीले पनि वडामा करका स्रोतबारे सम्पर्क व्यक्तिहरूले पहिचान गर्नुपर्नेमा जोड दिइन् । उनले वडामा घरनक्सा पास भए/नभएको, व्यवसाय दर्ता तथा नवीकरण भए/नभएको सम्बन्धित वडाबाट निर्वाचितलाई बढी जानकारी हुने भएकाले वडा सदस्यलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सम्पर्क व्यक्तिहरू जिम्मेवार भएर लागेमा महानगरले लिएको कर संकलनको लक्ष्य पूरा हुने बताए । विराटनगरमा ६० प्रतिशतभन्दा बढीले नक्सा पास नगरी घर बनाएको कोइरालाले बताए । अभिमुखीकरणमा वडा नं २ का अध्यक्ष कुमार पोखरेल, वडा नं ७ का अध्यक्ष मधुबाबु तिवारी, सामाजिक विकास महाशाखा प्रमुख राजेन्द्र प्रधान, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको पनि उपस्थिति थियो । विषयविज्ञलाई बोलाएर सम्पर्क व्यक्तिलाई दोस्रो चरणको अभिमुखीकरण दिइने भएको छ । महानगरले विराटनगरमा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको छ । गत आर्थिक वर्षमा ४९ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको महानगरले चालू आर्थिक वर्षमा ८७ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्