माधव नेपालको प्रधानमन्त्रीलाई आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला
काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली प्रवृत्तिुको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका पछाडि नलाग्न प्रधानमन्त्री प्रचण्डलाई उनको आग्रह थियो ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको कार्यक्रममा केपी ओलीले हिजो संसद् बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती (संसद् विघटन) स्वीकार नगरेको भन्दै त्यसो नगर्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सुझाव दिए ।
प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।