निर्माण सामग्रीको जताततै अभाव
काठमाडौं,पुस २५ । सरकारले मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराउँदा निर्माण सामग्री आपूर्तिमा समस्या आएको भन्दै निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ ।
महासंघले आइतवार एक विज्ञप्ति जारी गरी राज्यले निर्माण कार्यको मुख्य सिजनमै पूर्वसूचनाविना क्रसर उद्योगको नियमन गर्दा ती उद्योगले उत्पादन गर्ने निर्माण सामग्रीको उत्खनन, उत्पादन र ओसारपसार गम्भीर समस्या आएको बताएको छ ।
यसको प्रत्यक्ष असर राष्ट्रिय गौरवका आयोजनालगायत सम्पूर्ण निर्माण कार्यमा परेको महासंघको भनाइ छ । खानी तथा नदीजन्य निर्माण सामग्रीको अभाव भई निर्माण कार्य नै ठप्प हुन पुगेको पनि महासंघको विज्ञप्तिमा उल्लेख छ । नदी तथा खानीजन्य सामग्रीको उत्पादन र संकलनमा रोयल्टी निर्धारण विभिन्न स्थानीय निकायले विनामापदण्ड अनुचित रूपले फरकफरक गरेको पनि महासंघले बताएको छ ।
उसले यस्तो रोयल्टी मूल्यको मापदण्ड संघीय सरकारले नै निर्धारण गर्नुपर्ने र निर्माण सामग्रीहरूको मूल्य राज्यले नै तोक्नुपर्नेमा जोड दिएको छ । गृह मन्त्रालयले निर्देशन दिएसँगै स्थानीय प्रशासनले मापदण्डविपरीत सञ्चालित देशभरका क्रसर उद्योग धमाधम बन्द गराइरहेका छन् ।