एकीकृत समाजवादी सरकारमा नजाने निश्चित, संसदलाई प्रतिपक्षमा बस्ने सुझाव



काठमाडौं,पुस २४ । नेकपा (एकीकृत समाजवादी) सरकारमा नजाने भएको छ । संसद सचिवालयलाई पठाएको पत्रमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । यो पत्रका आधारमा पनि एककिृत समाजवादी सरकारमा नजाने पक्कापक्की भएको हो ।

यसअघि संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको थियो । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताएका छ । उनी भन्छन्, ‘हामी सत्तामा छैनौं, त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्ष मै बस्छौं ।’

प्रतिक्रिया दिनुहोस्