३० हजार ४०० टनले घट्यो आलु आयात : अब चिप्स बनाउन मात्रै विदेशी आलु
काठमाडौं,पुस २३ । नेपालीको भान्छामा मुख्य तरकारीका रूपमा प्रयोग हुने आलुको आयात ३० हजार ४ सय मेट्रिक टनले घटेको छ । मूल्यका हिसाबले पोहोरको तुलनामा यसपालि ७२ करोड ३० लाख रुपैयाँ कमको आलु आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पछिल्लो ५ महीना (साउन–मङ्सिर)सम्ममा गतवर्षको सोही अवधिको तुलनामा आलुको आयात घटेको हो ।
पछिल्ला वर्षहरूमा आलुको आन्तरिक उत्पादन बढ्दै गएकाले त्यसैको प्रभावस्वरूप आयात घटेको बताइएको छ । विभागको तथ्यांकअनुसार गत आव २०७८/७९ को मङ्सिरसम्म नेपालले विभिन्न मुलुकबाट ५ अर्ब ५२ करोड ८३ लाख रुपैयाँ बराबरको २ लाख १८ हजार ३०५ मेट्रिक टन आलु आयात गरेको थियो । चालू आवको सोही अवधिमा ४ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको १ लाख ८७ हजार ८५८ मेट्रिक टन आलु आयात भएको छ ।
पछिल्ला केही वर्षमा नेपालमा आलुको आयात निरन्तर घट्दै गएको विभागको तथ्यांकले देखाउँछ । आव २०७६/७७ मा ८ अर्ब ७७ करोड १२ लाख रुपैयाँ बराबरको ३ लाख ४१ हजार ९ सय १४ टन आलु आयात भएकोमा आव २०७७/७८ मा ८ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ बराबरको ३ लाख ३९ हजार ६ सय २२ टनमात्रै आयात भएको छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख वासुदेव काफ्लेले पछिल्ला वर्षहरूमा नेपालमा आलुको उत्पादन बढ्दै गएकाले आयात कम भएको बताए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अहिले देशभर १ सय ६६ ओटा पकेट क्षेत्र निर्माण र २ सयओटा कृषक समूहलाई सहभागी गराई खायन आलु र बीउ आलु प्रवर्द्धनजस्ता कार्यक्रम लागू गरेपछि किसानले गुणस्तरीय बीउ पाएका छन् । यसले उत्पादन बढाउन योगदान गरेको छ ।
चालू आवमा खायन आलु प्रवर्द्धनका लागि ९७ स्थानीय तहमा १४ करोड ७८ लाख र बीउ आलु प्रवर्द्धन कार्यक्रमका लागि २२ स्थानीय तहमा ३ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा आलुको वार्षिक उत्पादन बढ्दै गएको देखिन्छ । आव २०७५/७६ मा नेपालमा कुल १ लाख ९३ हजार २ सय हेक्टर जमीनमा आलुखेती थियो । त्यसबाट २८ लाख ८१ हजार ८ सय मेट्रिक टन उत्पादन भएको थियो । त्यसपछिको आव २०७६/७७ मा खेतीको क्षेत्रफल बढेर १ लाख ९५ हजार १ सय हेक्टर पुग्यो ।
त्यसबाट ३१ लाख १२ हजार ९ सय टन आलु उत्पादन भएको छ । त्यसैगरी आव २०७७/७८ मा १ लाख ९८ हजार हेक्टर जमीनको खेतीबाट ३३ लाख २५ हजार टन आलु उत्पादन भएको तथ्यांक छ । नेपालमा आवश्यक पर्ने आलुको करीब ९० प्रतिशत स्वदेशी उत्पादनले धान्छ । तर, औद्योगिक कच्चा पदार्थका रूपमा ठूलो परिमाणमा आलु आयात हुने गरेको विज्ञहरू बताउँछन् । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, निगालेका कार्यालय प्रमुख विजयकुमार गिरीले तरकारीको रूपमा उपभोग गर्न १० प्रतिशत मात्रै आलु आयात गरे पुग्ने बताए । चिप्स, फ्रेन्च फ्राईलगायत अन्य उत्पादनका लागि ठूलो मात्रामा आलु आयात भइरहेको उनी बताउँछन् ।
केन्द्रले केही वर्ष अघिसम्म किसानलाई कार्डिनल, कुफ्री सिन्दुरी, कुफ्री ज्योतिजस्ता कम उत्पादन दिने खालका आलुको बीउ वितरण गर्दै आएको थियो । अचेल धेरै उत्पादन दिने र रोग कीराको प्रकोपले कम आक्रमण गर्ने जनकदेव, खुमल लक्ष्मी, खुमल विकासजस्ता जातका बीउ किसानलाई उपलब्ध गराउन थालिएको छ ।