सोमवारदेखि १४औं चितवन महोत्सव
काठमाडौं,पुस २२ । नारायणगढको प्रदर्शनी मैदानमा सोमवार (पुस २५)देखि १४औं चितवन महोत्सव हुने भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका मुख्य प्रवर्द्धक भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन छन् ।
बिहीवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिइएको हो । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न यस्ता मेला महोत्सवले सहयोग पुर्याउने बताए । महोत्सव सञ्चालनका लागि हरेक जिल्लामा एउटा प्रदर्शनी केन्द्र आवश्यक पर्नेमा सरकारले पर्याप्त ध्यान नदिँदा निर्माण हुन नसकेको उनले बताए । महोत्सव ५ लाखले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा कृषि, पर्यटन, सूचनाप्रविधि, विद्युतीय अटोमोबाइल्स, हस्तकला, स्वास्थ्य, शिक्षा लगायतका सामग्री प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले आफूहरूले हरेक महोत्सवमा एउटा क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति लिएको बताए ।
महोत्सवमा सातओटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, सूचना प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेशिनरी सामानको स्टल रहने बताइएको छ । यसैगरी रेस्टुराँ परिसरसहितका ४५० ओटा स्टल रहनेछन् । १० दिनसम्म चल्ने महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।