बागमती सरकार निर्माण : कांग्रेस पर्ख र हेरको नीतिमा, समाजवादीलाई सत्तारोहणको हतारो



काठमाडौं,पुस २१ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २४ गते अपरान्ह ४ बजेसम्म सरकार निर्माणको लागि बहुमत सदस्य सहित दाबी पेश गर्न सूचना जारी गरेपछि तरंगित बनेको प्रदेश सरकार निर्माणको प्रक्रियामा प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पर्ख र हेरको नीतिमा अघि बढेको छ ।

केन्द्रीय सत्ता समिकरण भएमा आफुहरुको हातबाट सत्ता फुत्कने निश्चित देखिएपछि कांग्रेसले केन्द्रीय सत्ता समिकरणको भागवण्डामा नजर राखेको छ । केन्द्रमा सात प्रदेशको बाँडफाँडमा राप्रपाले असन्तुष्ठ भएको अवस्थामा उसलाई मुख्यमन्त्री दिएर भएपनि समाजवादीको साथ सहित सरकारमा प्रवेश गर्ने कांग्रेसको रणनीति अनुसार उसले कुनै दलसँग सत्ता नेतेत्वको लागि छलफल सुरु गरेको छैन् ।

प्रदेश प्रमुखले सरकार निर्माणको लागि सूचित गरेपनि कांग्रेस भने भोली या पर्सि हुने दलको बैठकले जे निर्णय गर्छ त्यहि मानेर अघि बढने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । केन्द्रीय सत्ता समिकरणमा कांग्रेस भन्दा अर्को गठवन्धनको बहुमत देखिएकोले कांग्रेसले सत्ताको नेतृत्वको लागि पहल गरिनसकेको उनको भनाई छ । कांग्रेसको संसदीय दलको बैठकले बागमतीमा कांग्रेसको उपस्थितीबारे रणनीति तयार गरेर अघि बढने उनले बताए ।

तर नेकपा एकिकृत समाजवादीले भने कांग्रेसँग छलफल भएको दाबी गरेको छ । एकिकृत समाजवादीका नेता तथा बागमती प्रदेश सांसद कृष्ण प्रसाद शर्मा खनालले भने ‘ अरु दलले समिकरण गर्नुहुने, गठवनधन गर्नुहुने तर हामीले नहुने भन्ने छैन नि, स्वभाविक रुपमानै कांग्रेसले, हामीले सत्ता समिकरणको लागि छलफल तिब्र बनाएका छौँ ।’ खनालले राप्रपा, कांग्रेस र समाजवादीको समिकरणबाट पनि प्रदेश सरकार निर्माण हुने संभावना प्रवल रहेको दाबी गरे । उनले आफुहरु सरकार निर्माणको लागि सकारत्मक भएर अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्