‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो : कतारदेखि अमेरिकाका प्रडक्ट नेपालमा



काठमाडौं,पुस २१ । नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी न्युनतम १ अर्ब ८० करोडदेखि २ अर्ब  ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको छ ।

सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएपनि यसको आयात भने कम हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा मात्रै पनि १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका डेरी प्रडक्टहरू आयात भइसकेका छन् । नेपालले ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेश पठाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनदेखि मंङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो ।

कस्ता डेरी प्रडक्ट आयात हुन्छन् ? कहाँ कहाँबाट आउँछन् ?

नेपालले स्किम्ड दूध, प्रशोधित दूध, बटर, क्रिम, चिज र अन्य दूधबाट बनेका समाग्रिहरू आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जसमध्ये  सबैभन्दा धेरै २८ करोड ८८ लाख रुपैयाँको बच्चाहरूले खाने दूध, २१ करोड ११ लाख रुपैयाँको दूधबाट बनेको बच्चाको खाना, १७ करोड ५९ लाख रुपैयाँ बराबरको पाउडर दूध र १२ करोड ४१ लाख रुपैयाँ बराबरको चिज आयात भएको देखिन्छ । 

नेपालले भारत, जर्मनी, कोरिया, डेनमार्क, बेलायत, अमेरिका, बेल्जियम, चिन, जापान, कतार, ‍ओमन लगायतका देशहरूबाट डेरी प्रडक्ट आयात गरेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्