कांग्रेस सांसद महतको दाबी– वर्तमान सत्ता गठबन्धन धेरै टिक्दैन
काठमाडौं,पुस २१। नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन धेरै नटिक्ने दाबी गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
उनले वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्रवादीसम्म र संघीयता विरोधीदेखि पक्षधरसम्म सहभागी भएकाले यसको आयु लामो समय नटिक्ने दाबी गरे । उनले कांग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाए ।
उनले कांग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष दाहाललाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको बताए । ‘निर्वाचनमा जाँदा गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता गरेका थियौं । त्यो प्रतिबद्धताबाट हामी हटेका होइनौं, प्रचण्डजी हट्नुभयो,’ उनले भने ।
उनले आगामी दिनमा कांग्रेस सशक्त प्रतिपक्षको रूपमा संसदमा प्रस्तुत हुने प्रतिवद्धता जनाए । उनले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्नेहरूले नै कांग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताए ।
कांग्रेसले यही पुस २८ गते १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।