प्रधानमन्त्री प्रचण्डले पुष २६ गते संसदमा विश्वासको मत लिने
काठमाडौं,पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् ।
प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
यसरी प्रधानमन्त्री बनेका व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ। संसद सुरू भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।