घरजग्गामा लिलामीको बाढी, ३ महीनामा २ लाख ५० हजार सीसी लिलामीको विज्ञापन
काठमाडौं,पुस १८ । नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् ।
पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ हजारभन्दा बढी घरजग्गा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा १ लाख सीसी विज्ञापनभन्दा बढी छ । त्यस्तै कर्जा चुक्ता गर्न नआए लिलामी प्रक्रियामा लैजाने बारेका १ हजार ५०० सूचना प्रकाशित भएका छन् । ती सूचनाको हिस्सा पनि करीब डेढ लाख सीसी विज्ञापन बराबर रहेको ‘माइन्डस नेपाल’को तथ्याङ्कले देखाउँछ ।
असोजमा बैंक तथा वित्तीय संस्थाहरूबाट १०० भन्दा कम लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ११ हजार ३०० सीसी रहेको थियो । तर, कात्तिकमा एकै पटक ३०६ ओटा लिलामीका सूचना प्रकाशित भएका थिए, जसको हिस्सा ३५ हजार ५८७ सीसी विज्ञापन थियो । जुन अघिल्लो महीनाको तुलनामा ३ गुणाले बढी हो ।
मंसिरमा पनि लिलामीका सूचनामा बाढी नै आयो । मंसिरमा यो संख्या बढेर ३४६ पुग्यो, जसको हिस्सा ४० हजार ८१० सीसी विज्ञापन बराबर थियो । पुसमा पनि बैंक वित्तीय संस्थाको लिलामी रफ्तार कम हुने सम्भावना छैन । पुसको १३ दिनमा मात्रै २०४ ओटा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा २२ हजार ४६८ सीसी विज्ञापन बराबर छ । यही अनुपातमा लिलामीका सूचना आए पुसमा ५० हजार सीसी विज्ञापन बराबर लिलामीका सूचना प्रकाशित हुनेछन् ।
काठमाडौंबाट प्रकाशित हुने १६ ओटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित विज्ञापनको तथ्याङ्कले दैनिक पत्रिकाका पाना कर्जा चुक्ता गर्न आउने र लिलामीका लागि भनेर निकालिएका सूचनाले भरिएको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूले दोहोर्याएर सम्पत्ति लिलामीका सूचना निकाले पनि घरजग्गा विक्री भने हुन सकेका छैनन् ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी अहिले घरजग्गा बजारमा आएको संकुचनका कारण बैंकहरूले धितो लिलाम गर्न निकालेका सूचनाको तुलनामा निकै कम मात्रै विक्री भएको बताउँछन् ।
‘लिलामी नहुँदैमा सबै जग्गा बैंकले सकार्नुपर्छ भन्ने हुँदैन । त्यसमा विभिन्न खालको स्थिति हुन्छ । एउटा समय अवधिभित्र त्यसलाई विक्री गर्ने वा बैंकले सकार्ने भन्ने निर्णय स्थिति हेरेर मात्रै गरिन्छ,’ केसीले आर्थिक अभियानसँग भने, ‘अहिले घरजग्गाको कारोबारमा आएको शिथिलताका कारण बैंकलाई पहिलेको भन्दा अलि बढी गाह्रो अवस्था भने पक्कै छ ।’