सातामा करीब ९ प्रतिशत बढ्यो नेप्से, कुल बजार पूँजीकरणमा २ खर्बभन्दा बढीको वृद्धि 



काठमाडौं,पुस १७ । गत साता धितोपत्र दोस्रो बजारका सबै महत्त्वपूर्ण सूचकहरू अघिल्लो साताको तुलनामा सकारात्मक बनेका छन् । गत साता एक दिन सार्वजनिक विदा परेकाले चार कारोबार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ भने एक दिन घटेको छ । साताको पहिलो कारोबार दिन राजनीतिक घटनाक्रमको सकारात्मक प्रभावसँगै ५६ दशमलव ८८ अंक बढेको बजार दोस्रो दिन पनि ५९ दशमलव ८७ अंक बढेको थियो । 

लामो समयपछि उच्च अंकले दुई दिन लगातार बढेको बजारमा तेस्रो दिन भने ११ दशमलव ८१ अंकको करेक्सन देखिएको थियो । तेस्रो दिन नाफा बुक गर्ने सक्रिय हुँदा करेक्सनमा गएको बजार चौथो दिन ५६ दशमलव ८८ अंकले बढेर बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ८६७ दशमलव २१ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार २९ दशमलव शून्य ३ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक १६१ दशमलव ८२ अंक माथि उक्लिएको हो । प्रतिशतको हिसाबमा गत साता नेप्से परिसूचक ८ दशमलव ६७ प्रतिशत बढेको हो । 

नयाँ सरकारमा अर्थमन्त्रीका रूपमा विण्णु प्रसाद पौडेलले जिम्मेवारी पाउँदा पूँजीबजारमा सकारात्मक प्रभाव पर्ने विश्वास आम लगानीकर्तामा देखिएको छ । लगानीकर्ताको मनोबल अर्थमन्त्री पौडेलको तेस्रो कार्यकालले नै बढाएको देखिन्छ । यसअघि पनि पौडेल अर्थमन्त्री भएको समयमा बजारले ‘अल टाइम हाई’को रेकर्ड बनाएकाले लगानीकर्ताले फेरि पनि उनकै पालामा बजारले ‘अल टाइम हाई’को रेकर्ड कायम गर्ने विश्वास लिएका छन् । अर्थमन्त्री पौडेलले पनि लगानीकर्ताको नेताहरूसँगको भेटमा पूँजीबजारको थप सुधार र विस्तारका लागि विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

शेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष तारा प्रसाद फुल्लेलले लगानीकर्ताले विश्वास जितेको अर्थमन्त्री बजारको आवश्यकता रहेकोमा त्यो पूरा भएको बताए । नीति नियम र नियमनका आधारमा चल्नुपर्ने बजारमा सरकार र मन्त्री परिवर्तनका कारण असर देखिनु राम्रो नभएको उनको तर्क छ । अर्थमन्त्री पौडेलले साँघुरो घेरामा रहेको पूँजीबजारलाई फराकिलो बनाई देशव्यापी लगानीकर्ताको पहुँचमा पुग्ने नीति तय गर्नेमा आम लगानीकर्ता विश्वस्त रहेको फुल्लेलको भनाइ छ । 

लगानीकर्ता सकारात्मक बन्दा गत साता रू. १० अर्ब ९९ करोड ५३ लाख ३९ हजार बराबरको ३ करोड २२ लाख ३७ हजार ६३० कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताको तुलनामा गत साता रू. ६ अर्ब ३ करोड ७६ लाख ३१ हजार बराबरको १ करोड ७१ लाख ८५ हजार १५६ कित्ता बढी धितोपत्र कारोबार भएको हो । औसतमा रू. २ अर्ब ७४ करोड ८८ लाखभन्दा बढीको धितोपत्र गत साता कारोबार भएको हो । 

करिब ९ प्रतिशत बजार बढ्दा कूल बजार पूँजीकरण रू. २ खर्ब ३४ अर्ब ४६ करोड २४ लाखले वृद्धि भएको छ । अघिल्लो साता रू. २७ खर्ब २ करोड ६० लाख रहेको कूल बजार पूँजीकरण यो साता रू. २९ खर्ब ३४ अर्ब ४८ करोड ८५ लाख कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्