अप्पर अरुण आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण शुरू



किमाथांका,पुस १७ । स‌ंखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अप्पर अरुण आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण शुरू गरिएको छ ।

अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न शुरू गरेको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए ।

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा २ हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिएको छ । १ हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले बनाउने गरी निर्माण अघि बढाइएको छ । आयोजनाले प्रभावित क्षेत्रका ३३५ घरपरिवारलाई मुआब्जा वितरण गर्ने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । उनका अनुसार हालसम्म भोटखोला-२ हटियाका १५ घरपरिवारलाई करीब रू. साढे ४ करोड मुआब्जा वितरण गरिसकिएको छ ।

उत्तर-दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमीनको प्रतिरोपनी रू. १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी रू. १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

त्यस्तै हटिया-८, ९ र चेपुवा-१ को अलैंची बालीसहितको जग्गा प्रतिरोपनी रू. ९ लाख ५० हजार र चेपुवा-१, हटिया-८ तथा ९, पावाखोला-३ का अलैंची बाली नभएको पाखो बारीको प्रतिरोपनी रू. ७ लाख कायम गरिएको थियो ।

आयोजना निर्माणको कार्य दुई वर्षपछिदेखि शुरू गरिँदै छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो ।

जलविद्युत् आयोजनाको अनुमानित लागत रू. २ खर्बभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण शुरू हुनेछ । हाइड्रोपावर निर्माण शुरू भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्