बैंकले उठाए वर्षकै सबैभन्दा सस्तो ब्याजदरमा ५० अर्बको रिपो



काठमाडौं,पुस १५ । नेपाल राष्ट्र बैंकले जारी गरेको ५० अर्ब रुपैयाँ बराबरको रिपो यो वर्षकै सबैभन्दा कम ब्याजदरमा विक्री भएको छ ।

केही बैंक तथा वित्तीय संस्थाले सबैभन्दा कम ७ दशमलव ५४ प्रतिशत ब्याजदरमै पनि पैसा पाएका छन् ।

बिहीवार राष्ट्र बैंकले ४५ दिन अवधिको रिपोको बोलकबोल सम्पन्न गर्दा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ९ प्रतिशतसम्म ब्याजदर कबोल भएको छ । यसको औषत ब्याजदर ८ दशमलव ०९ प्रतिशत मात्रै रहेको छ ।

३२ ओटा बैंक तथा वित्तीय संस्था सहभागी भएको बोलकबोलमा १४१ ओटा बिड हालिएको थियो । जसमा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब ६५ करोड रुपैयाँ माग भएको थियो ।

राष्ट्र बैंकले यस अघि जारी गरेका ८ ओटा रिपो भन्दा बैंकहरूले यसपटक सबैभन्दा कम ब्याजदरमा पैसा लगेका छन् । यस अघि साउन १२ गतेदेखि पुस ७ गतेसम्म जारी भएका रिपोको औषत ब्याजदर ८ दशमलव ३३ प्रतिशतदेखि ८ दशमलव ५७ प्रतिशतसम्म रहेको थियो ।

चालू आर्थिक वर्षमा जारी भएका ९ ओटा रिपो मध्ये बैंक तथा वित्तीय संस्थाहरूलाई पुस १४ गते जारी रिपोको ब्याजदर नै सबैभन्दा सस्तो परेको हो ।

चालू आवमा राष्ट्र बैंकले २ खर्ब २७ अर्ब ७० करोड रुपैयाँ रिपो बजारमा पठाएको छ । तर, अहिले भने बजारमा रिपो मार्फत गएको ७० अर्ब रुपैयाँ तरलता सुविधा मात्रै प्रयोग भइरहेको छ ।

पुस मसान्तमा कर र ब्याज तिर्नका लागि धेरै रकम बैंकिङ प्रणालीबाट बाहिरिने हुँदा तरलता सहज बनाउन राष्ट्र बैंकले ४५ दिन अवधिको रिपो जारी गरेको हो । बैंकहरूले अहिले लगेको ५० अर्ब रुपैयाँ आगामी माघ २९ गतेसम्म चलाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्