नेपालमा ह्वात्तै बढे ल्यापटप प्रयोगकर्ता : २ अर्ब ६० करोड बढीको आयात
काठमाडौ,पुस १४ । नेपालमा ल्यापटप तथा नोटबुक प्रयोगकर्ताको संख्या वृद्धि भएको छ । विशेष कोरोना महामारीपछि यसको प्रयोग र माग ह्वात्तै बढ्न थालेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनासम्ममा २ अर्ब ६० करोड ७४ लाख ५८ हजार रुपैयाँ बराबरको ल्याटप तथा नोटबुक नेपाल भित्रिएको थियो । भन्सार विभागका अनुसार सो अवधिमा ३८ हजार ६८ थान ल्यापटप तथा नोटबुक आयात भएको जनाएको छ । हाल नेपालमा विश्वका दुई दर्जन बढी मुलुकहरुबाट ल्यापटप तथा नोटबुक आयात हुने गरेको छ ।
यो चालु आवको पहिलो महिनाको तुलनामा भने अत्याधिक वृद्धि भएको छ । सो अवधिमा ल्यापटप तथा नोटबुक आयात २४१.४३ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउन महिनामा भने विश्वका विभिन्न मुलुकहरुबाट ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँ बराबरको १२ हजार ६४५ थान ल्यापटप तथा नोटबुक आयात भएको थियो ।
शैक्षिक, व्यवसायिक, सार्वजनिक समारोह इत्यादि क्रियाकलापहरु भर्चुअल्ली नै आयोजना भइरहेका छन्। भर्चुअल गतिविधिका लागि ल्यापटप अनिवार्य आवश्यकता बन्न पुग्यो । जसका कारण ल्यापटपको माग बढेर आयात पनि ह्वात्तै उकालो लागेको हो ।
चालु आवको मंसिर मसान्तसम्ममा सबैभन्दा छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट २ अर्ब ५२ करोड ४९ लाख ६२ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको विभागले जनाएको छ । चीनबाट सो अवधिमा ३६ हजार ६७७ हजार थान ल्यापट तथा नोटबुक नेपाल भित्रिएको छ ।
सो अवधिमा मलेसियाबाट २ करोड २३ लाख ३४ हजार, अमेरिकाबाट १ करोड ६७ लाख ५ हजार, जापानबाट ९४ लाख ५२ हजार, भारतबाट ५५ लाख ५७ हजार, भेतनाम ४२ लाख ७२ हजार, सिंगापुर ३५ लाख ५९ हजार, ताइवानबाट ३३ लाख ३९ हजार, यूएईबाट ३२ लाख १६ हजार, थाईल्यान्ड २९ लाख ८१ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको छ । यस्तै, युकेबाट ९ लाख ७२ हजार रुपैयाँ, पोल्याण्ड ९ लाख २६ हजार, कोरियाबाट ९ लाख ११ हजार, नामिविया ७ लाख ३२ हजार, अष्ट्रेलियाबाट ५ लाख ७८ हजार, हङकङबाट २ लाख ९१ हजार, कुवेत १ लाख ९ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको हो ।
सो अवधिमा अष्ट्रेरिया, बेल्जियम, क्यानडा, जर्मनी, इज्रायल, म्यानमार, कतार, इटली, नर्वे र उल्लेख नभएका देशहरुबाट पनि ल्यापटप तथा नोटबुक आयात भएको विभागले जनाएको छ ।
गत कात्तिकमा भने २ अर्ब ११ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको ३१ हजार ४१० थान ल्यापटप तथा नोटबुक आयात भएको थियो । यस्तै, असोज महिनामा १ अर्ब ६४ करोड ३३ लाख ५१ हजार रुपैयाँ बराबरको २४ हजार ७११ थान, भदौमा १ अर्ब २५ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरको १९ हजार ५०८ थान ल्यापटप तथा नोटबुक आयात भएको विभागले जनाएको छ ।