दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन कठिन हुने कांग्रेस नेता विश्वकर्माको दाबी
काठमाडौं,पुस १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् ।
कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ ओटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमानसमेत गरे । संघीयता नै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनको दाबी छ ।
‘प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेसजस्तो लचिलो पार्टी त मिलाउन सक्नुभएन भने यी सबै दलहरू कसरी मिल्लान ? र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ,’ उनले भने ।
कार्यक्रममा सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढने बताए । उनले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको बताए ।
सत्तारुढ दल माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरूले मिलेर सरकार चलाउने बताए । उनले विगतमा फुट आएपनि अब मिलेर अघि बढ्ने गरी जनादेश आएकाले सोही अनुसार आफूहरू अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए ।