आयल निगमकै कारण हवाई इन्धनको आयात घट्यो



काठमाडौं, पुस ११ । नेपालमा पछिल्लो ५ महीनामा हवाई इन्धनको आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को ५ महीनामा नेपालले ९ अर्ब २० करोड रूपैयाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन आयात गरेको छ ।

गत आवको उक्त अवधिमा भने ४ अर्ब १८ करोड रुपैयाँ बराबरको ८० हजार ७४४ किलोलिटर हवाई इन्धन आयात गरिएको थियो । अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा हवाई इन्धन नभर्दा यसको आयातसँगै खपत घटेको जानकारहरू बताउँछन् ।

तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय कोरोना महामारीका कारण अन्तरराष्ट्रिय उडान घट्दा खपत घटेको दाबी गर्छन् । ‘२०७६ सालभन्दा अगाडिको खपतको जुन ट्रेन्ड थियो, त्यो अझै आइसकेको छैन । त्यतिबेलामा दैनिक ६०७ किलोलिटर हवाई इन्धन खपत हुन्थ्यो । अहिले करिब ५०० किलोलिटर हवाई इन्धन विक्री हुन्छ,’ उनले भने, ‘विस्तारै यो लयमा आउला ।’

एक वर्षअघिको तुलनामा अहिले हवाई इन्धनको खपत घटे पनि पछिल्लो ४र५ महीनायता अन्तरराष्ट्रिय उडान भने घटेको देखिँदैन । आन्तरिक तर्फ पनि उडान संख्या कटौति गरिएको छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला पछिल्लो ४र५ महीनायता उडान संख्यामा कुनै परिवर्तन नभएको बताउँछन् । उनका अनुसार अहिले दैनिक औषतमा ४० ओटा अन्तरराष्ट्रिय उडान हुने गरेका छन् ।

नेपालमा अन्तरराष्ट्रिय बजारकै बराबर हवाई इन्धनको मूल्य हुँदा अन्तरराष्ट्रिय वायु सेवा कम्पनीले नेपालबाटै इन्धन भर्ने गरेका थिए । अहिले अन्तरराष्ट्रिय बजारमा हवाई इन्धन लगायत सबै जसो इन्धनको मूल्य घटेपनि नेपाल आयल निगमले घाटा पूर्ति गर्ने भन्दै मूल्य समायोजन गरेको छैन । यसै कारण अहिले अन्तरराष्ट्रिय वायु सेवा कम्पनीले ट्रान्जिटमै हवाई इन्धन भर्न थालेको जानकारहरू बताउँछन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्