नेपाली बजार विदेशी फलफूलको कब्जामा, ५ महिनामा ४ अर्ब ८५ करोडको आयात



काठमाडौं,पुस १० । फलफूल आयातमै नेपालबाट अरवौं रुपैयाँ बाहिरिने गरेको छ । पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको हो ।

फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामै पौने पाँच अर्ब बढीको फूलफल आयात भएको हो ।

भन्सार विभागका अनुसार नेपालमा चालु आवको मंसिर मसान्तसम्ममा विश्वका विभिन्न देशहरुबाट ४ अर्ब ८५ करोड ५४ लाख ८७ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ । नेपालमा स्याउ, सुन्तला, केरा, आँप, अंङ्गुर, अनार, कागती, पाइनएप्पल, खर्वुजा, लगायतका फलफूल ठुलो मात्रामा आयात हुने गरेको छ । सो अवधिमा ७७ हजार ५२८ मेट्रिक टन फलफूल नेपाल भित्रिएको हो ।

फलफूल उत्पादनका लागि नेपाल अनुकूल हावापानी र भूगोल रहेको दाबी गरिरहँदा उपभोक्ता बजार भने छपक्कै विदेशी उत्पादनले ढाकेको छ । भारत, चीनबाट लगायतका देशबाट फलफूल आयात हुने गरेको छ ।

चालु आवको मंसिर मसान्तसम्ममा ३ अर्ब ८ करोड ९६ लाख ४९ हजार रुपैयाँ बरारको स्याउ मात्रै आयात भएको छ । सो अवधिमा छिमेकी मुलुक भारतबाट १ अर्ब ८८ करोड ३९ लाख १२ हजार र चीनबाट १ अर्ब २० करोड ५७ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । यति ठुलो मात्रामा विदेशी स्याउ नेपाल भित्रिँदा स्वदेशी उत्पादनले भने खासै भाउ पाउँदैन । नेपालमा उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्याउले बजार नपाएको किसान गुनासो गर्छन् ।

काठमाडौं लगायतका प्रमुख बजारमा भारतीय र चिनीया स्याउ बिक्री हुन्छ । नेपाली उत्पादनलाई पूर्ण प्रयोगमा ल्याउन नसक्दा स्याउ आयातकै नाममा नेपालबाट वर्षेनी अर्बौ रकम विदेशीने गरेको छ । नेपालमा मुस्ताङ, जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन हुने गरेको छ । सामान्य किसानले उत्पादन गरेका बजारसम्म ल्याएर राज्यले बिक्रीमा सहजीकरण गरिदिने हो भने स्वदेशी उत्पादन बढाउन मद्दत पुग्ने व्यवसायीको धारणा छ । ढुवानीको समस्याले स्थानीय उत्पादन गाउँमै कुहिन्छन् । ती उत्पादनले बजारको पहुँच प्राप्त गर्न सके आयात प्रतिस्थापनमा टेवा पुग्ने देखिन्छ ।

यस्तै, चालु आवको पाँच महिनामा सुन्तला ३३ करोड ३३ लाख रुपैयाँ, २४ करोड९० लाख ५९ हजार रुपैयाँ बराबरको कागती, २१ करोड २८ लाख ३३ हजारको भारतीय केरा, अंगुर १२ करोड ४५ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको छ। सो अवधिमा अनार ४२ करोड ४३ लाख ६६ हजार, खर्वुजा १३ कारेड ३४ लाख ३० हजार, पाइनएप्पल ८ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टताका कारण संसारको हरेक कुनामा उत्पादन गर्न सकिने फलफूलहरु नेपालमा उत्पादन गर्न सकिने भए पनि उत्पादन वृद्धि हुन सकेको छैन।

दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको नसकेको प्रष्ट देखिएको छ । सरकारले स्याउ आत्मनिर्भर कार्यक्रमका लागि कर्णालीका पाँच जिल्ला, मनाङ, मुस्ताङमा कार्यक्रम विस्तार गरको छ।

त्यसैगरी सुन्तला उत्पादनका लागि गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी ,पाल्पा, गुल्मी, र अर्घाखाँचीमा लगायतका जिल्लामा सुन्तला बगैचा सुदृढिकरण कार्यक्रम संचालन गरेको थियो। सरकारले फलफूल उत्पादन गर्नका लागि फलफूल दशक घोषणा गरेको छ ।

फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्