पोखरा महानगरको पार्किङ ठेक्का रद्द, ठेकेदारसँग १ करोड ९० लाख
कास्की । पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन दिएको ठेक्का तोडेको छ । यसअघि महानगरले ठेकेदार कम्पनी फेवा सावित्री जेभी कम्पनीसँग २ वर्षका लागि ३ करोड १६ लाख ६० हजार रुपैयाँमा सम्झौता गरेको थियो । तर, ठेकेदार कम्पनीले शर्त अनुसार रकम नबुझाएपछि महानगरले ठेक्का तोडेको हो ।
पूर्वमेयर मानबहादुर जिसीको कार्यकालमा २ वर्षका लागि फेवा सावित्री जेभीसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो । यसअघि भएको ठेक्का सम्झौता गत मङ्सिर २७ गते सकिएको थियो । तर, मेयर जिसीले आफ्नो कार्यकाल सकिएर बाहिरिँदै गर्दा चार महीना म्याद थपिदिएका थिए ।
जिसीसँगको साँठगाँठमा म्याद थप गर्दा समेत कम्पनीले महानगरलाई सम्झौता अनुसारको बक्यौता रकम नबुझाएपछि शुक्रवार बसेको कार्यपालिका बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो । महानगरले बारम्बार ताकेता गर्दा पनि कम्पनीले विभिन्न बहाना बनाएर बक्यौता रकम नतिरेपछि ठेक्का रद्द गर्ने निर्णय भएको पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए । उनका अनुसार फेवा जेभीले महानगरलाई तीन किस्ताको १ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । महानगरले ठेकेदार कम्पनीले राखेको धरौटीबाट बाँकी रकम असुल गरिने बताएको छ। महानगरले मुख्य क्षेत्रको सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ । साथै निजी भवनको अन्डरग्राउण्डलाई पार्किङ प्रयोजनमा ल्याइने महानगरले बताएको छ । अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङका बारेमा मापदण्ड तोकेर शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी प्रदान गरेको छ ।
त्यसैगरी फोहोरमैलाको अस्थायी व्यवस्थापनका लागि पोखराको लामेआहालमा ल्याण्डफिल साइटको व्यवस्था गरिने प्रवक्ता तिमिल्सिनाले बताए । साइटको व्यवस्थापन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिइएको छ । महानगरको फोहोर प्रशोधन गर्न पोखरा महानगरपालिका–३३ देब्रेवर झाँक्रीखोला उपयुक्त भएको अध्ययन समितिले सिफारिश गरेकाले थप अध्ययनपछि निर्णय गरिने महानगरले बताएको छ ।