गृहले भन्यो ‘कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहनु’
काठमाडाैं,पुस ९ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा वृद्धि भएको भन्दै सजग रहन आग्रह गरेको छ । विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले सजग एवं सूसुचित हुन अनुरोध गरेको हो ।
मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।