बागमती र धोबीखोलामा डोजर लगाइरहेका बालेनले खोकना आन्दोलनलाई गरे समर्थन
काठमाडौं,पुस ६ । बागमती र धोबीखोला करिडोरका अनधिकृत संरचनामा डोजर लगाइरहेका काठमाडौं महानगर प्रमुख बालेन शाहले खोकना आन्दोलनलाई समर्थन गरेका छन् ।
द्रुत मार्ग निर्माणका क्रममा खोकनाको प्राचिन वस्ती र सभ्यता मास्न खोजेको भन्दै खोकना वासी वर्षौदेखि आन्दोलित छन् । बुधवार मेयर शाहले खोकना आन्दोलनका फोटोहरू सामाजिक सञ्जालमा राख्दै जवर्जस्ती लादिएको विकास दिगो नहुने बताएका छन् ।
उनले भनेका छन् ,’विकास आवश्यक छ । परिवर्तन अपरिहार्य छ । तर, त्यो विकासले सभ्यतालाई उन्नत बनाउनु पर्छ । विकास र परिवर्तनको मौलिकता तब मात्रै स्थापित हुन्छ । तब मात्रै वास्तविक विकासको वास्तविक अनुभूति नागरिकसम्म पुग्छ ।’
उनले अगाडि भनेका छन्, ‘द्रुत मार्गको खोकनाक्षेत्रमा विकास र परिवर्तनले नागरिकहरूलाई असहजता थपेको छ । एउटा अलग्गै पहिचान, अलग्गै संस्कृति समेटेर ठूलो सभ्यताको अंश बनेर रमाइरहेको खोकनालाई द्रुत मार्गले दुख थपेको छ । नागरिकलाई आन्दोलन गर्न बाध्य बनाएर लादिएको विकासको दिगोपन रहनेमा शंका यथावत रहन्छ । त्यो क्षेत्र अनधीकृत होइन, पुर्खौँदेखि रहेको बस्ति हो ।’
राज्यले अनधीकृत बसोबास र संरचनामा देखाउनु पर्ने तदारुकता पुर्खौँदेखि बसिरहेका नागरिकहरु हटाउनमा देखाइरहेको उनको आरोप छ । ‘अनधीकृत संरचना हटाउन कुनै पनि सहयोग नगर्ने सरकार पुर्खौँदेखिको सभ्यता र संस्कृति हटाउन भएभरको सुरक्षा संयन्त्र प्रयोग गरिरहेको छ । यो प्राथमिकता गलत छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिगो विकासका लागि स्थानीयहरूको माग सम्बोधन गर्न आवश्यक छ ।’