ओली, नेपाल र लिङ्देन सर्वसम्मत



काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिएका छन्। एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन्।

कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन पनि गरेको थियो । एमालेको प्रतिनिधिसभा संसद्मा ७८ सांसद छन् ।

नेकपा (एकीकृत समाजवादी)ले पनि संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई छनोट गरेको छ । आगामी सरकारमा आलोपालो प्रधानमन्त्री बनाउने सत्ता गठबन्धनको आन्तरिक सहमति दिएका दलहरूले पार्टी नेतृत्वलाई नै दलको नेता चयन गरेका छन् । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा १० सिट जितेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दलको नेतामा सर्वसम्मतिले छनोट गरेको छ । सरकार गठनअघि दलको नेता छनोट गर्नुपर्ने प्रावधानअनुसार अध्यक्ष लिङ्देनलाई पार्टीले सर्वसम्मतिमै संसदीय दलको नेता चयन गरेको राप्रपाले जनाएको हो । राप्रपाका १४ सांसद छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मतिले दलको नेता चयन गरेको छ । सोमबार बिहान बूढानीलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्