देउवाले उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्छ : थापा
काठमाडौं,पुस ६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।
मंगलवार कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए । सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णय गरे कांग्रेसीहरूमा खुशी र उत्साह छाउने उनले बताए ।
महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन उनको आग्रह थियो । उनले संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताए ।
महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् ।
संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।