सामाजिक सुरक्षा कोषमा समेटिंदै अनौपचारिक, स्वरोजगार र विदेशिएका श्रमिक, के – के छन् सुविधा ?



काठमाडौं,पुस ६ । अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौं श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खुलेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै उनीहरू योजनामा समेटिने भएका हुन् ।  ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए ।

औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि अनौपचारिक क्षेत्रका श्रमिक त्यसबाट वञ्चित हुँदै आएका थिए । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) ले पनि पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो । स्वीकृत कार्यविधिबमोजिम अनौपचारिक क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम् आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम अर्थात् १ हजार ९१२ रुपैयाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्नेछ ।

योगदान रकम दाखिला गरेपछि उनीहरू कोषबाट सञ्चालित विभिन्न योजनाबाट लाभान्वित हुने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । कोषले घरेलु, कृषि, निर्माण र यातायात क्षेत्रमा आबद्ध श्रमिकलाई अनौपचारिक क्षेत्रका श्रमिक मानेको छ । वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तिमा आधारभूत परिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम २ हजार रुपैयाँ मासिक रुपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

सरकारले श्रमिकको आधारभूत परिश्रमिक मासिक ९ हजार ३८५ रुपैयाँ र महँगी भत्ता मासिक ५ हजार ६१५ रुपैयाँ गरी मासिक न्यूनतम् परिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । यसैगरी स्वरोजगारमा रहेका श्रमिकले सरकारले तोकेको न्यूनतम परिश्रमिकको ३१ प्रतिशत अर्थात न्यूनतम मासिक दुई हजार नौ सय नौ रुपैयाँ ३५ पैसाका दरले बढीमा तीन गुणासम्म कोषमा योगदान गर्न सक्नेछन् ।

कोषका सञ्चालक समिति सदस्य एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सबै श्रमिकलाई योजनामा सहभागी गराउने पहल सकारात्मक रहेको बताउँछन् ।

सुविधा के – के छन् ?    
अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकका लागि कोषले विभिन्न योजना ल्याएको छ । उनीहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजान, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना गरी विभिन्न योजनाबाट लाभ लिन सक्नेछन् ।

योगदानकर्ताले एक आवमा १ लाख रुपैयाँसम्मको औषधोपचार सुविधा, मातृत्व सुविधाअन्तर्गत ९८ दिनको परिश्रमिक, शिशु स्याहारबापत न्यूनतम परिश्रमिकको आधारभूत तलब, ७ लाख रुपैयाँसम्मको दुर्घटना उपचार खर्च, असक्तता भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत, काजकिरिया खर्चबापत २५ हजार रुपैयाँ, आधारभूत पारिश्रमिकको ४० प्रतिशत आश्रित श्रीमानरश्रीमतीलाई आजीवन पेन्सन र सन्ततिका लागि २१ वर्षसम्म शैक्षिक वृत्ति पाउनेछन् ।     
     
 कोषमा योगदान गर्ने वैदेशिक क्षेत्रमा रहेका श्रमिकले तीन सुविधा प्राप्त गर्नेछन् । उनीहरूले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र अवकाश एवं वृद्धअवस्था सुरक्षा योजनाबाट विभिन्न सुविधा प्राप्त गर्नेछन् ।

उनीहरूले मासिक २ हजार देखि १८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना उपचार खर्चबापत वार्षिक १ लाख रुपैयाँ, अशक्तता भएमा मासिक ६० प्रतिशत पेन्सन, काजकिरिया खर्च २५ हजार रुपैयाँ, आश्रित श्रीमान/ श्रीमतीले ४० प्रतिशत आजीवन पेन्सन पाउनेछन् ।     
     
 कार्यविधि लागू भएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृत लिंदा कोषबाट सूचीकरण नम्बर अनिवार्य रुपमा लिनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा आबद्ध व्यक्ति कोषको अनलाइन प्रणालीमार्फत सूचीकरण हुन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकाकालाई योजनामा आबद्ध गराउन एनआरएनए र वैदेशिक रोजगार व्यवससायी सङ्घसहितको सहभागितामा वृहत अभियान सञ्चालन गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । एनआरएनएका अध्यक्ष रविना थापाले पनि योजनाको कार्यान्वयनमा आउने समस्या समाधानमा सहजीकरण गर्न सङ्घ तयार रहेको बताइन् ।

८२ लाख श्रमिक योजनामा समेटिने आँकलन     
     
 नयाँ योजना कार्यान्वयनमा आएसँगै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका करिब ८२ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने आँकलन गरिएको छ । अनौपचारिक क्षेत्रका ४२ लाख, स्वरोजगारीमा रहेका १८ लाख र वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिक योजनामा सहभागी हुने अनुमान छ । औपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधि आगामी वैशाख १ गतेदेखि र वैदेशिक क्षेत्रको कार्यविधि स्वीकृत भएको मितिले ९० औँ दिनदेखि शुरु हुनेछ ।

अनौपचारिक क्षेत्रको श्रमिकका लागि स्थानीय तहको वडा कार्यालयको सिफारिश पत्रका आधारमा सूचीकरणको व्यवस्था गरिएको कार्यकारी निर्देशक ज्ञवालीको भनाइ छ ।वैदेशिक रोजगारीमा रहेका श्रमिकले भने तीन ओटा सुविधा मात्र दाबी गर्न सक्ने कोषले बताएको छ ।

उनीहरू दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, अवकाश एवं वृद्धवस्था सुरक्षा योजनामा सहभागी हुन सक्नेछन् । हाल कोषमा नियमित रुपमा योगदान गर्ने योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना गरी विभिन्न योजनाबाट लाभ लिइरहेका छन् ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ८० हजार ९८२ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा २७ अर्ब रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई २ अर्ब ९० करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्