सरकार गठनको काउन डाउन सुरु, अब को बन्ला नयाँ अर्थमन्त्री ?



काठमाडौं,पुस ४ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनैतिक दलहरुलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आव्हान गरेकी छन् ।

सात दिनको म्याद दिएर राष्ट्रपति भण्डारीले दलहरुलाई प्रधानमन्त्री दावी पेश गर्न आव्हान गरेकी हुन् । अब दलहरुले पुस १० गतेसम्म दावी पेश गर्नुपर्नेछ ।

निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएपछि संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सरकार गठन प्रक्रियाका लागि आव्हान भएको हो ।

उक्त धाराअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते आइतबार अपरान्ह १७ः०० बजेभित्र दाबी पेस गर्न आव्हान भएको हो । योसंगै सरकार गठनको काउन डाउन सुरु भएको छ । नेपाली राजनीति क्षेत्रमा नयाँ बन्ने सरकार मन्त्रीहरुको चर्चा समेत चुलिएको छ । निर्वाचनको अन्तिम मतपरिणाम आइसकेपछि अब बन्ने सरकार र विशेष अर्थमन्त्रीको बन्छ भन्ने चर्चाका विषय बनिरहेको छ । नेपाली अर्थतन्त्रमा आएको संकट र त्यसको समाधानका लागि अबको सरकारले नीति तथा कार्यक्रम कार्यन्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । हालको समस्या समाधान गरि देशलाई समृद्धिको बाटो तर्फ हाक्नका लागि कस्तो व्यक्ति अर्थमन्त्री बन्ने भन्ने विषय चुलिएको हो ।

यति बेला हाल कायम सत्ता गठबन्धन दलहरु नयाँ सरकार बनाउने कसरतमै छन् । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसको नेतृत्वमा सरकार गठन हुने निश्चित छ । नयाँ अर्थमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाश शरण महत, अहिलेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, गगन थापा, नवलपरासी पश्चिम १ बाट निर्वाचित डलर अर्बपति विनोद चौधरीको चर्चा रहेको छ । चौधरीलाई निजीक्षेत्रको आत्मविश्वास जितेर काम गर्नुपर्ने अवस्थामा उपयुक्त पात्रको रुपमा पनि हेरिएको स्रोतले बतायो ।

त्यस्तै, देउवा नेतृत्वको सरकार बनेमा यसअघि नै स्वास्थ्य मन्त्री समेत बनेका शेखर गुटका गगन थापाको पनि अर्थमन्त्री बन्ने बलियो सम्भावना रहेको बताउँदै आएका छन् । यता माओवादी केन्द्रबाट भने अब बन्ने अर्थमन्त्रीमा वर्षमान पुनको चर्चा रहेको छ । प्रधानमन्त्रीमा देउवा दोहोरिए माओवादी केन्द्रबाट अहिलेका अर्थमन्त्री जनार्थन शर्मालाई भने नदोर्याउने संकेत देखिएको । तर, मन्त्री शर्माले पनि नयाँ सरकारको अर्थमन्त्रीमा आफ्नो दावी भने प्रस्तुत गर्दै आएको स्रोतको भनाई छ । मन्त्री शर्मालले सही नीति अवलम्बन गर्न नसक्दा र सरोकारवाला निकायहरुबीच समन्वय गरेर अघि बढ्न नसक्दा देशको अर्थतन्त्र संकटतर्फ धकेलिएको आरोप समेत छ ।

नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले अर्थमन्त्री पाउने अवस्था एकदमै न्युन रहेता पनि पाएको खण्डामा प्रकाश ज्वालाको झिनो चर्चा छ । उनी कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन् ।

यद्यपि, नेकपा एमालेको सरकार गठन भएको खण्डमा भने विष्णु पौडेलको बलियो सम्भवना रहेको छ । नेकपा एमालेका उपाध्यक्ष समेत पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ । नेपालाई भविष्यमा हुने थप जोखिम र हालको आन्तरिक अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ। यसअघि पनि अर्थमन्त्री पौडेल सेयर लगानीकर्ताहरुको हितमा काम गरेको पाइन्छ । पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिएको र सेयर बजारप्रति सकरात्मक दृष्टिकोण लगानीकर्ता विश्वास रहेको छ ।

यता निजी क्षेत्रले भने हालको समस्या समाधान गर्न सक्ने अर्थमन्त्री आवश्यक रहेको बताएको छ । अब बन्ने सरकार र अर्थमन्त्रीले आर्थिक नीति तथा कार्यक्रममा व्यापाक सुधरा गर्नुपर्ने निजीक्षेत्रले जनाएको छ । अब पनि नीतिगत सुधार र कार्यान्वयनलाई गम्भिरतापूर्वक नलिए नेपाली अर्थतन्त्र अझै संकटतर्फ धकेलिने निजी क्षेत्र तथा उद्योगी व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्