४ खर्ब ३० अर्बभन्दा बढी विदेशी लगानी स्वीकृत, पर्यटन र सेवामूलक क्षेत्रमा बढ्यो लगानी



काठमाडौं,पुस ३ । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ ।

उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् ।

विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म ५ हजार ६२८ ओटा उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम्म कुल ४ खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो ।     
     

 यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत असार मसान्तसम्ममा मात्र ८ हजार ७६४ ओटा उद्योगका लागि कुल २६ खर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव भएको देखिन्छ । तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो ।     
 

लगानी स्वीकृत भएकामध्ये सेवामूलक र पर्यटनका क्षेत्रका उद्योग बढी छन् । गत कात्तिक मसान्तसम्ममा सेवामूलक क्षेत्रमा १ हजार ८ ६७ र पर्यटन क्षेत्रमा १ हजार ८५५ प्रस्ताव स्वीकृत भइसकेको विभागले बताएको छ । त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएका उत्पादनमूलक उद्योग १ हजार २६९, ऊर्जामूलक उद्योग ९१, कृषिमूलक २९५, खनिजमूलक ७२, पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग १२४ छन् ।     
     
 

हालसम्म वैदेशिक लगानी स्वीकृत भइसकेका उद्योगमध्ये ठूला उद्योग ३२३, मझौता उद्योग ६२२ र साना उद्योग ४ हजार ६८३ छन् । त्यस्तै, हालसम्म वैदेशिक लगानी भित्रिएका साढे ५ हजारभन्दा बढी कम्पनीबाट २ लाख ९७ हजार ९३५ जनाले रोजगारी पाएको पनि विभागको विवरणमा उल्लेख छ ।     
     

विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र उनीहरुको परिवारका सदस्यलाई विदेशी लगानी स्वीकृत भएपछि लगानीका आधारमा उद्योग विभागले व्यावसायिक राहदानी उपलब्ध गराउँँदै आएको छ । विभागले गत कात्तिकमा मात्र ४५९ विदेशीलाई राहदानीका लागि सिफारिस गरेको देखिन्छ । नेपालमा वैदेशिक लगानी गरेका लगानीकर्ता ३३७, वैदेशिक लगानीकर्ताका प्रतिनिधि तीन र आश्रित भिसा ८९ जनालाई उपलब्ध गराइएको विभागले बताएको छ ।

 विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार ६ अर्ब रुपैयाँसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुन्छ । त्योभन्दा माथिको लगानी भने लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने प्रावधान छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्