विश्वकप नजित्ने महान फुटबलरको धब्बाबाट जोगिएलान् मेसी ?
एजेन्सी,पुस २ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी आफ्नो दोस्रो अनि सम्भवतः अन्तिम विश्वकप फाइनल खेल्दैछन् । उनले केही दिनअघि आइतवार हुने फाइनल खेल विश्वकपको आफ्नो अन्तिम खेल हुने बताइसकेका छन् ।
त्यसकारण मेसीको लागि लुसाएल रंगशालामा हुने फ्रान्स विरुद्धको फाइनल विश्वकपको उपाधि चुम्ने अन्तिम अवसर हो । यदि फाइनल जिते उनको उत्साहजनक र रेकर्डै रेकर्ड भएको करियरमा अर्काे ठूलो उपाधि थपिदिनेछ । साथै उनी विश्वकप नै नजिति करियर बिट मार्ने महान फुटबल खेलाडीको धब्बाबाट समेत जोगिनेछन् ।
आफ्नो पुस्ताका महान खेलाडी पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो र मेसीबीच विश्वकपको उपाधि शुरुमा कसले चुम्ने भन्ने होडबाजी थियो । रोनाल्डो यो अवसरबाट वञ्चित भइसकेका छन् ।
रोनाल्डोलाई २ खेलमा वैकल्पिक खेलाडीको रूपमा राखेको मूल्य क्वाटरफाइनलमा पोर्चुगलले चुकाएको छ । क्वाटरफाइनलमा मोरक्कोसँग पोर्चुगल स्तब्ध बनेपछि विश्वकप चुम्ने ३७ वर्षीय रोनाल्डोको सपना पनि तुहिएको छ ।
यो अवस्थामा मेसीले पनि आफूलाई रोनाल्डोकै कित्तामा उभ्याउनबाट जोगाउलान् त ? यो हेर्न बाँकी नै छ । तर, यो विश्वकपमा रोनाल्डो छायामा पर्दा मेस्सी निकै चम्किएका छन् ।
गोल्डन बुटको दाबेदारीमा मेसी अगाडि नै छन् । ६ खेलमा टिमलाई ५ गोलको योगदान दिएका उनले ३ गोलमा असिस्ट गरेका छन् । ‘हरेक पटक उनले खेल्दा हामी अनि खेलाडीहरूलाई विशेष महसुस गराउँछन्,’ अर्जेन्टिनी कोच लियोनल स्कालोनीले भने । ‘उनमा यस्तो त केही छ, जसका कारण अर्जेन्टिनी मात्रै नभएर विश्वभरका मानिसहरूले उनलाई मन पराउँछन्,’ उनले अगाडि थपे ।
मेसी अर्जेन्टिनी फुटबलको इतिहासमा डियगो म्याराडोनाकै पंक्तिमा आउँछन् । म्याराडोनाले अर्जेन्टिनालाई विश्व विजेता बनाएका थिए । तर, मेसीले यो अवसर अहिलेसम्म पाएका छैनन् । म्याराडोनाले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका थिए । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।
२० वर्षअघि बार्सिलोनाका लागि अद्भूत प्रदर्शन गर्न थालेयता नै मेसीले म्याराडोनाको सफलता दोहोर्याउने आशा गरिएको थियो । तर, यस अवधिमा बारम्बार यो आशामा तुषारापात भयो । म्याराडोना टिमको कोच रहेको अनि मेस्सी स्टार प्लेयर हुँदा सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा संलग्न अर्जेन्टिनी टोली विश्व विजेता बन्न सक्ने ‘ड्रिम टिम’ थियो । तर, जर्मनीसँग ४–० ले हारेर अर्जेन्टिना क्वाटरफाइनलबाटै घर फर्कियो ।
सन् २०१४ मा मेसी आफ्नो करियरको उत्कर्षमा हुँदा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइलनमा पुग्यो । तर, अतिरिक्त समयमा जर्मनीसँग १–० ले हार्याे ।
यो विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी मेसी अनि फ्रान्सका काइलियाम एमबाप्पे हुन् । मेसी लेजेन्ड हुन् भने एमबाप्पे भविष्यमा मेसी र रोनाल्डोझैं चम्किने सम्भावना भएका खेलाडी हुन् । यो विश्वकपमा मेसीको गोलको त चर्चा छ नै असिस्टको झनै बढी चर्चा छ ।
क्वाटरफाइनलमा नेदरल्यान्ड विरुद्धको खेलमा उनले नाहुएल मोलिनालाई गोल गर्ने अवसर दिएका थिए । सेमिफाइनलमा क्रोयशियाविरुद्धको खेलमा अर्जेन्टिनाको खातामा तेस्रो गोल लेखाउन उनले जुलियन आल्भारेजको गोलमा गरेको योगदान पनि स्मरणीय छ ।
गत बिहीवार क्रोएसियाका डिफेन्डर गर्भाडिएओलले मेसीजस्ता महान खेलाडीविरुद्ध गोलरक्षकको काम गरेको एक दिनको कुरा आफ्नो केटाकेटीलाई सुनाउन हुने बताएका थिए ।
मेसीले गोलमा सघाउनुको अर्थ उनले अब पनि सबै गोल आफैंले हान्न सक्दैनन् भन्ने बुझ्न सकिन्छ ।
आल्भारेजको उदय पनि अर्जेन्टिनाको प्रगतिमा उत्तिकै महत्त्वपूर्ण रह्यो । कतार विश्वकपमा आल्भारेजले ४ गोल गरेका छन् । अर्जेन्टिनाको खेलमा ९० मिनेटभर मैदानमा मेसीको दबदबा उहिलेको कुरा भइसक्यो । यद्यपि, अर्जेन्टिनाको लागि उनी निर्णायक भने देखिएका छन् । युवा हुँदा उनी जतिको ‘डाइनामिक’ थिए अहिले त्यति छैनन् । तर, अघिल्ला विश्वकपको तुलनामा अहिले उनी बढी प्रभावशाली बनेका छन् ।
ट्रफी र मेडलको कलेक्सनमा विश्वकपको ट्रफी पनि राखेर मेसी आफ्नो व्यक्तिगत कलेक्सनलाई पूरा बनाउन चाहन्छन् । मेसीले चार ओटा च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पारेका छन् । सबैभन्दा धेरै ब्यालन डि’ओर उपाधि पनि उनले नै हात पारेका छन् । उत्कृष्ट खेलाडीलाई दिइने यो उपाधि उनले सात ओटा बटुलिसकेका छन् ।
मेसीले तेस्रो विश्वकप उचाल्ने अर्जेन्टिनाको सपना कतारमा पूरा गर्न खोजिरहेका छन् । ८ वर्षअघि फाइनलमा पराजित भएको अर्जेन्टिना ३६ वर्षयता उपाधिविहीन छ ।
मेसी जस्तो उनको पुस्ताको महान खेलाडी हुँदा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्न नसके उसले तेस्रो पटक विश्वकप उपाधि जित्न कति वर्ष कुर्नुपर्ला ?
मैदानमा मेसीले खेलेको हेर्नु जादु हेरेभन्दा कम हुन्न । कतार विश्वकप अर्जेन्टिनाको हो भन्ने विश्वास र आशा अहिलेसम्म मेसीले जोगाइरहेका छन् । अर्जेन्टिनाले विश्वकप जिते पनि नजिते पनि महानतम् खेलाडीको रूपमा मेसीको हैसियतमा कुनै आँच आउने छैन । एजेन्सीहरू