अर्थतन्त्रका सूचकमा सुधार



काठमाडौं,पुस १ । चालू आर्थिक वर्ष (आव) को चौथो महीना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् ।

यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशत कायम भएको छ । गत भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको उपभोक्ता मूल्यवृद्धि असोजमा ८ दशमलव २६ प्रतिशत कायम भएको थियो । सरकार र राष्ट्र बैंकले चालू आवमा मूल्यवृद्धि (मुद्रास्फीति) ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य दिएका छन् ।

शोधनान्तर बचत बढ्यो
कात्तिकमा देशमा भित्रने र बाहिरिने रकमको अन्तर (शोधनान्तर स्थिति) थप सकारात्मक बनेको छ । १४ महीनासम्म घाटामा रहेको शोधनान्तर स्थिति गत असोजबाट बचतमा गएको थियो । असोजमा १२ अर्ब ४३ करोड रुपैयाँ रहेको शोधनान्तर बचत कात्तिकमा ८ अर्ब थपिएर २० अर्ब ३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ महामारी र यसलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षहरूमा आयात घट्दा शोधनान्तर स्थिति बचतमा थियो । तर, गतवर्षको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढ्न थाल्यो । उच्च आयातले विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटाउन थालेपछि राष्ट्र बैंकले पोहोर कात्तिकदेखि नै आयात निरुत्साहित गर्न विलासी वस्तुको आयात एलसीमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्‍यो । पछि २०७९ वैशाखमा सरकारले १० प्रकारका विलासी वस्तुको आयातमै प्रतिबन्ध लगायो । त्यसपछि शोधनान्तर घाटा शून्यमा ओर्लेर बचत हुन थालेको हो ।

विप्रेषण बढ्ने क्रम जारी
चालू आवको शुरूदेखि नै बढ्न थालेको रेमिट्यान्स (विप्रेषण) वृद्धिदर कात्तिक मसान्तमा २० दशमलव ४ प्रतिशत कायम भएको छ । फलस्वरूप गत साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । कात्तिकमा मात्र ९६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा भने विप्रेषण आप्रवाह ७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव ८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष डलर विप्रेपण ७ दशमलव ३ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि र डलरको भाउ उच्च हुँदा  विप्रेषण आय अझ सकारात्मक देखिएको हो । यस वर्ष वैदेशिक रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या पनि पोहोरको तुलनामा शतप्रतिशत बढेको देखिन्छ ।

साउनदेखि कात्तिकसम्ममा अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या १०२ दशमलव ५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ पुगेको राष्ट्र बैंकको भनाइ छ । पुनः श्रमस्वीकृति लिने (बिदामा घर आएर पर्किने) को संख्या पनि ४६ दशमलव ४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको छ । विप्रेषणसँगै पर्यटकबाट हुने भ्रमण आयमा पनि सुधार देखिएको छ । चालू आवको कात्तिकसम्ममा भ्रमण आय १३७

पर्यटकबाट हुने भ्रमण आयमा पनि सुधार देखिएको छ । चालू आवको कात्तिकसम्ममा भ्रमण आय १३७ प्रतिशतले बढेर १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा भ्रमण आय ७ अर्ब ५८ करोड रुपैयाँ मात्र थियो । कात्तिकमा भ्रमण व्यय पनि ६३ दशमलव ८ प्रतिशतले वृद्धि भई ३३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रुपैयाँ छ ।

व्यापारघाटा घट्यो
आव २०७९/८० को ४ महीनामा देशको वैदेशिक व्यापारघाटा कम भएको छ । कात्तिकसम्ममा आयात पोहोरको तुलनामा १८ दशमलव १ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबर कायम हुँदा निर्यात ३३ दशमलव ३ प्रतिशतले घटेको छ । यस अवधिमा ५४ अर्ब ७७ करोडको वस्तु निर्यात भएको छ । आयातनिर्यात प्रभावित हुँदा आव २०७९/८० को ४ महीनामा कुल वस्तु व्यापारघाटा पनि १५ दशमलव ९ प्रतिशत घटेर ४ खर्ब ७७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ ।

सञ्चितिमा सुधार
यस अवधिमा विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ । गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति कात्तिकमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर सञ्चिति गत असारको ९ अर्ब ५४ करोडबाट बढेर कात्तिकमा ९ अर्ब ६३ करोड कायम भएको छ । गत असोजमा डलर सञ्चिति ९ अर्ब ४८ करोड थियो । चालू आव २०७९/८० को चार महीनाको आयातलाई आधार मान्दा उक्त विदेशी मुद्रा सञ्चितिले ९ दशमलव ७ महीनाको वस्तु र ८ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्छ । असोज अन्त्यमा ९ दशमलव ६ महिनाको वस्तु र ८ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो ।

प्रतिक्रिया दिनुहोस्