गोल्डेन बुटको दौडमा फ्रान्स र अर्जेन्टिनाका ४ खेलाडी मात्र, अहिलेकै अवस्थामा मेस्सीले पाउने !
काठमाडौं,मंसिर २९ । कतारमा जारी विश्वकपमा धेरै गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको दौडमा फ्रान्स र अर्जेन्टिनाका ४ खेलाडी अघि देखिएका छन् ।
फ्रान्सबाट काइलियन एम्बाप्पे र ओलिभर जिरुड अग्रस्थानमा रहँदा अर्जेन्टिनाबाट कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज अग्रस्थानमा देखिएका छन् । त्यसपछि ३ गोल सहित शीर्ष स्थानमा रहेका खेलाडीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
फ्रान्सका स्टार फरवार्ड काइलियन एमबाप्पे र लियोनेल मेस्सीको समान ५/५ गोल रहेको छ । एम्बाप्पेले १ खेल कम खेलेका छन् । सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पनि अर्जेन्टिना र फ्रान्सकै फरवार्डको बराबरी छ । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेज र फ्रान्सेली फरवार्ड ओलिभर जिरुडले समान ४/४ गोल गरेका छन् ।
अहिले भएका खेलाडीले थप गोल गर्न नसकेमा लियोनेल मेस्सीले गोल्डेन बुट पाउने छन् । उनले ५ गोल गर्नुका साथै ३ गोलका लागि अवसर सिर्जना गरेका छन् । एम्बाप्पेले भने २ गोलका लागि मात्रै अवसर सिर्जना गरेका छन् । गरेको गोल संख्या बराबरी भएमा गोलका लागि सिर्जना गरेका अवसरलाई आधार मानेर गोल्डेन बुट दिने गरिएको छ ।