नुवाकोट शिवपुरी शिक्षक संघले बुझायो शिक्षा सुधारका मागसहित ध्यानाकर्षण पत्र
तस्बिर सौजन्य: प्रवीण थपलिया
नुवाकोट,मंसिर २८ । जिल्लाको शिवपुरी गाउँपालिकामा रहेको शिक्षक संघले शिक्षा सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार शिक्षकको पेशागत संस्था नेपाल शिक्षक संघ शिवपुरी कार्यसमितिले शिवपुरी गाउँपालिकामा रहेका विभिन्न विद्यालयमा शिक्षा सुधारका लागि ध्यानाकर्षण गराएको हो ।
गाउँपालिका अन्तर्गत रहेको शिक्षक संघका अध्यक्ष दामोदर आचार्यको नेतृत्वमा गाउँपालिका पुगेका शिक्षक संघका पदाधिकारीसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष बीरबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार कार्कीलाई भेटी १८ बुँदे शिक्षा सुधार पत्र बुझाएको हो ।
सुझाव पत्रमा दिइएको सुझावमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग, गाउँपालिका स्तरीय आधारभूत तहको परीक्षा स्तरीय र व्यवस्थित हुनुपर्ने, दरबन्दि नभएका विद्यालयमा विषयगत शिक्षक दरबन्दिको व्यवस्थापन, अभिभावक शिक्षा, पुनर्ताजगी तालिम रहेका छन् ।
त्यस्तै आइसिटीको प्रयोगमा पहुँच वृद्धि, तल्लो तहमा नियुक्त भइ माथिल्लो तहमा अध्यापन गराइरहेका शिक्षकलाई प्रोत्साहन भत्ताको ब्यवस्था, विद्यालय सुधार योजना कार्यान्वयनलाई कडाइ, राहात तथा बाल विकाश तथा विद्यालय कर्मचारीको समस्या समाधान सम्बन्धि मुद्दा लगायतका माग रहेका छन् ।