उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक
कालीकोट, मंसिर २६। छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो ।
घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न आए । उनका छोरालाई अस्पतालमा औषधि गरेको र बेड शुल्कसमेत गरेर ४० हजार बिल पुग्यो ।
सो रुपैयाँ तिरेर जान अस्पताल प्रशासनले भनेपछि रुपियाँ नभएको जवाफ पाउनेबित्तिकै अस्पतालका कर्मचारीले बेड छाडेर जान दिएनन् । डाक्टरले रुपैयाँ नतिरी जान पाइँदैन भनेका कारणले आफू र छोरा अस्पतालकै बेडमा थप बस्नु परेको घाटे शाहीले गुनासो गरे ।
उनको छोराको खुट्टामा चोट लागेको र घाउ बल्जिएपछि अस्पताल ल्याएका थिए । पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले आफ्नो पालामा कुनै पनि शुल्क नलिने र औषधिमा पनि गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लक्षित वर्गलाई पूरै निःशुल्क गरे पनि अहिले त्यस्तो नभएको बताए ।
वर्तमान स्थानीय सरकारले शुल्क बढाएको र सबैलाई एकैनासको शुल्क निर्धारण गरेकाले घाटे शाही समस्यामा परेको पूर्वअध्यक्ष बमको भनाइ छ । सरकारी अस्पतालमा अहिले सरकारले ७२ प्रकारका औषधि निःशुल्क पठाउने गरेको छ तर पलाँता गाउँपालिकाले आफूखुसी शुल्क निर्धारण गरेका कारण सेवाग्राही मर्कामा पर्दै आएका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।