राजस्व संकलनमा कमी
वीरगन्ज,मंसिर २२ । सुनसरीको भन्टाबारी नाकाबाट घुमाएर ल्याउनुपर्दा व्यापारमा २५ प्रतिशतले गिरावट आएको अधिकारीहरूको भनाइ छ । पुल भासिनुअघिसम्म विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजस्व संकलन गर्दै आएको थियो । पुल भासिनु, भारतसँगको उधारो व्यापार बन्द हुनु र आर्थिक मन्दीलगायत कारण अहिले दैनिक १० करोड मात्र राजस्व संकलन भइरहेको छ ।
विराटनगर भन्सारका प्रमुख सापकोटाका अनुसार २०७८ पुस २२ गते मिरगञ्जको पुल भासिएपछि विराटनगर नाकाको व्यापार २५ प्रतिशत घटेको हो ।
यहाँबाट हुने व्यापार मेची भन्सारतिर सरेको थियो । चार किलोमीटर पर आइसकेको सामान फेरि ११६ किलोमीटर घुमाएर जाँचपासका लागि विराटनगर भन्सार ल्याउनुपर्ने र त्यसो गर्दा ढुवानी भाडा बढी पर्ने भएकाले कतिपय व्यवसायीले सामान मगाउन कम गर्दा पनि कारोबारमा कमी आएको उनको भनाइ छ ।
पुल भासिनुअघि दैनिक ४ सय गाडी सामान विराटनगर भन्सारबाट जाँचपास हुन्थ्यो । अहिले दैनिक २०० हाराहारीको मात्र जाँचपास हुने गरेको भन्सार प्रमुख सापकोटाले जानकारी दिए । पुल भासिएयताको १० महीनामा १८ अर्ब ७५ करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा कमी आएको उनको भनाइ छ ।
२०७२ सालमा आएको बाढीले पनि मिरगञ्ज पुल भासिएको थियो । त्यो बेलामा पनि जोगवनी नाकाबाट हुने आयातनिर्यात ६ महीनासम्म वीरपुर नाका हुँदै सुनसरीको भन्टाबारी नाकाबाट गरिएको थियो । त्यसबेला भारतले पुल मर्मत गरेर पूर्ण भारवहन क्षमतामा सञ्चालन गरेको थियो ।