११ महीनापछि खुल्यो मिरगञ्ज पुल
११६ किलोमीटर घुम्न नपर्दा आयात ढुवानी खर्च प्रतिट्रक १६ हजार रुपैयाँले घट्ने
विराटनगर ,मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ । साविकको पुल भासिएपछि बनेको नयाँ आरसीसी मोटरेबल पुल सञ्चालनमा आएको हो ।
अब भारतलगायत तेस्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थलगायत सामग्री बोकेका ढुवानी साधनले विराटनगर भन्सार आइपुग्न तय गर्नुपर्ने दूरी ११६ किलोमीटरले छोटिएको छ । यसबाट व्यवसायीको समय र पैसा दुवै बचत हुनेछ भने व्यवसायको लागत पनि केही कम हुनेछ ।
पुल सञ्चालन नहुँदासम्म जोगवनी नाकाबाट चार किलोमीटर पर आइसकेका ढुवानी साधन सुनसरीको भण्टाबारी नाकाबाट घुमेर विराटनगर भन्सार ल्याउनुपथ्र्यो । पुल नहुँदा दैनिक औसत ६८ ओटा मालवाहक साधन घुमेर आइरहेकोमा बुधवार १६८ ओटा भारतको जोगवनी र नेपालको रानीमा बनेको नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) बाट नेपाल प्रवेश गरेका छन् । घुम्न नपर्दा एउटा ट्रक/कन्टेनरको १६ हजार रुपैयाँ ढुवानी भाडा जोगिने व्यवसायीको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले उक्त एकीकृत जाँच चौकीबाट बुधवारदेखि मालवाहक साधन आउन थालेको पुष्टि गरे । भन्सार प्रमुख ताराप्रसाद सापकोटाले मिरगञ्जको पुल आधिकारिक रूपमा सञ्चालनमा आउन बाँकी भए पनि मालवाहक गाडी आईसीपी हुँदै आएको र तिनको संख्या बढेको बताए । मिरगञ्ज पुल भासिँदा १० महीनामा विराटनगर भन्सारबाट हुने कारोबार १८ अर्ब ७५ करोडले घटेको थियो । सुनसरीको भण्टाबारी नाकाबाट घुमाएर ल्याउँदा १० महीनामा व्यवसायीले ९ करोड ६० लाख बराबर अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाललगायत कार्यसमितिले पुल सञ्चालनमा ल्याउन निकै मेहनत गरेको थियो । संघका महानिर्देशक कृष्ण रेग्मीले मिरगञ्ज पुल सञ्चालनमा आएपछि ढुवानी भाडा कटौती हुँदा औद्योगिक उत्पादनको लागत घट्ने बताए । ढुवानीको समय पनि छोटिने उनले बताए ।
भारतको ल्यान्ड पोर्ट अथोरिटीको जोगवनी कार्यालयका प्रमुख रत्नाकर यादवले मिरगञ्ज पुल तयार भई मालवाहक सवारीसाधनका लागि खोल्न मिल्ने देखिएपछि मंगलवार रातिदेखि आईसीपीबाटै आवतजावतको अनुमति दिएको बताए । पुल र फ्लाइओभरको केही काम बाँकी रहे पनि मालवाहक सवारी आवतजावतमा समस्या नहुने भएपछि लामो यात्रा तय गर्नुभन्दा छोटो बाटो खुला गरिएको उनको भनाइ छ । औपचारिक रूपमा दुवै भन्सार कार्यालयलाई पत्राचार हुन बाँकी रहे पनि अब भीमनगर–भण्टाबारी नाकाबाट ढुवानी साधन आउनजान बन्द हुने र एकीकृत जाँच चौकीबाटै आउजाउ शुरू हुने उनले जानकारी दिए । उनले मंगलवार राति १६० भन्दा बढी मालवाहक साधन नेपाल भन्सारतर्फ प्रवेश गरेको जानकारी दिए ।